हुलाकी न्यूज ,काठमाडौं : भारत बंगालको खाडीमा चक्रवात विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको हो।
‘यो चक्रवात बनेर नेपालतिर सर्यो भने प्रदेश १ देखि ४ (गण्डकी) सम्मै पानी पार्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘त्यसैले अहिले हामी बंगालको खाडीमा बनेको यो सिस्टम अध्ययन गरिरहेका छौं।’
उनका अनुसार चक्रवात विकास भयो र त्यसको असर नेपालमा पर्यो भने यही अक्टोबर ११र१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।
‘तर अहिलेसम्मको अवस्था हेर्दा नेपाललाई त्यति असर नगर्ला कि भन्ने देखिएको छ,’ उनले भने, ‘तर यो (आँधी) जमिनमा ठोक्किएपछि दिशा परिवर्तन गर्छ, अहिले हामी अध्ययनकै चरणमा छौं।’
मौसमविद् श्रेष्ठका अनुसार अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। ‘हिजो राति पनि उदयपुरमा हावाहुरीसहित वर्षा भएको थियो,’ उनले भने।
मौसमविद्का अनुसार बंगालको खाडीमा रहेको त्यही न्यून चापीय क्षेत्रकै कारण नेपालबाट अझै मनसुन नबाहिरिएको हो।
मौसमविद् श्रेष्ठका अनुसार नेपालको पश्चिमी क्षेत्र लगभग प्रदेश ३ को पश्चिमी भागसम्म मनसुन बाहिरिसकेको छ, सुक्खा सुक्खा भइसकेको छ।
तर पूर्वी क्षेत्रमा भने अझै मनसुन जारी छ। अझ बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै गएको र चक्रवात बन्ने क्रममा रहेकाले नेपालमा ठूलो वर्षा हुने सम्भावना बढेको हो।
मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति सेप्टेम्बर २७ हो। तर यस वर्ष यो मितिकै आसपास झन् ठूलो वर्षा भएको थियो।