हुलाकी न्यूज, रौतहट, ९ कार्तिक । एकीकृत नेकपा माओवादीका सांसद तथा पूर्वमन्त्री प्रभु साहले दुईसय ५० बर्षसम्म शासन गरेको राजालाइ धपाउन सक्ने जनताको अगाडि तीनजना साना राजाहरुको कुनै हैसियत नरहेको बताएका छन् । गृहजिल्ला रौतहटको कटहरीयामा आईतबार आयोजना गरिएको अन्तरक्रियालाई संबोधन गर्दै नेता साहले झापादेखि कञ्चनपुरसम्मको मधेशको भागलाई पहाडमा मिसाएर प्रदेशको सीमांकन गरिए मधेशी जनतालाई स्विकार्य नहुने बताए ।
नेता साहले सरकारले वार्ताको नाममा नौटंकी गरेर आन्दोलनकारीको माइन्ड डाइभर्ट गराउन खोजेको भन्दै मधेशी मोर्चालाई नाकाबन्दीका साथै अरु पनि दबाबमुलक विरोधका कार्यक्रम र विकल्प खोज्न सुझाव दिएका छन् । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, पूर्ण समावेशी समानुपातिक, अंगिकृत नागरिकता लगायतका विषयमा माग पुरा नभएसम्म अथवा बिगतको सहमति अनुसार संविधान संसोधन नभएसम्म आन्दोलन जारी राख्न आमजनसमुदायलाई आग्रह गरेका छन् ।
पूर्वमन्त्री साहले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशीसँग गद्दारी गरेजस्तै मधेशी मोर्चाका नेताहरुले पनि जुनसुकै बेला गद्दारी गर्नसक्ने भएको हुँदा खबरदारीको लागि सबै पक्षले आन्दोलन गरिरहनु पर्ने बताएका छन् । पछिलो साढे दुई महिनादेखि जारी मधेश आन्दोलन कुनै व्यक्ति बिशेषको नभई सम्पुर्ण मधेशीको आन्दोलन भएको उनको भनाई छ । उनले उत्कर्षमा पुगेको मधेश आन्दोलन मोर्चाका नेताहरुको स्वार्थमा नतुहियोस भन्नका लागि पनि आन्दोलन जारी राख्न सबैलाई आग्रह गरेका छन् । मधेशविरोधी संविधानमा मधेशका सबै एकसय १५ सभासदले स्ताक्षर नगरेको प्रस्टयाउँदै उनले मधेशीको हकको लागि सदन र पार्टीभित्र लड्न आफुले पद परीत्याग नगरेको प्रष्ट्याएका छन् ।



