हुलाकी न्यूज,काठमाडौं: लोकसेवा आयोगको सबै खाले परीक्षा सञ्चालनको अनुमति सरकारले दिएको छ।
कोरोनाका कारण यसअघि स्थगित आर्थिक वर्ष २०७६/७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ।

आयोगले परीक्षा सञ्चालन मापदण्ड तयार पारेको जनाएको छ। ‘संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७’ तयार पार्दै परीक्षा सञ्चालन गरिने भएको हो। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले मापदण्डअनुसार पहिलो चरणमा यसअघि स्थगित सहसचिवस्तरको परीक्षा हुने क्रममा रहेको जानकारी दिए। गत वर्ष स्थगित खरिदार, नासु तथा अधिकृतसहितका परीक्षा र नयाँ कार्यतालिका क्रमिक रूपमा आइरहेको छ।

आयोगले तयार पारेको मापदण्डअनुसार परीक्षार्थीलाई कोरोना परीक्षण रिपोर्ट आवश्यक पर्ने छैन। परीक्षार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्नेछ।
‘परीक्षार्थी आफू कोभिड-१९ संक्रमित भए नभएको स्वयंले घोषणा गर्नुपर्नेछ,’ सूचना अधिकारी सुवेदीले थपे, ‘संक्रमित परीक्षामा सामेल हुन पाउने छैनन्, संक्रमित भएमा सूचना लुकाउन मिल्ने छैन।’

परीक्षा केन्द्र निर्धारण, व्यवस्थापनमा खटिने कर्मचारी र परीक्षार्थीका लागि निश्चित मापदण्ड तयार पारिएको छ। मापदण्डअनुसार एकसय परीक्षार्थीका लागि एक परीक्षा केन्द्र रहनेछ भने एक कक्षा कोठामा २५ भन्दा बढी परीक्षार्थी रहने छैनन। ।कोरोना संक्रमित बढे, सहरदेखि गाउँहरू नै इपिसेन्टर बन्ने जोखिम
उपलब्ध नभएको अवस्थाबाहेक एक भवनमा एकभन्दा बढी परीक्षा केन्द्र निर्धारण गर्न नपाइने आयोगले व्यवस्था रहेको छ । परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रतिबीस परीक्षार्थी एक सहायक केन्द्राध्यक्ष, एक समन्वयकर्ता र प्रतिपन्ध्र परीक्षार्थी एक निरीक्षक र तीन सहयोगी मात्र खटाइने छन्।

परीक्षा सञ्चालन गर्दा सरकारबाट जारी संक्रामक रोग नियन्त्रण तथा रोकथामसँग सम्बन्धित सबै मापदण्ड पालना अनिवार्य गरिएको छ। आयोगले आकस्मिक प्रयोजनका लागि प्रतिपरीक्षा केन्द्र २० थान मास्क, ५ सय एमएल स्यानिटाइजर र साबुनलगाायत अत्यावश्यक सामग्री व्यवस्था गर्नेछ।

परीक्षास्थलमा आउने सबैले अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्नेछ। यसक्रममा दूरी कायम गरी कर्मचारीले मास्क खोल्न लगाई उम्मेदवार पहिचान गरेरमात्र परीक्षा हलमा जान अनुमति दिने छन्।

त्यस्तै, प्रश्नपत्र खोल्दा, उत्तरपुस्तिका वितरण गर्दा, हाजिरी गराउँदा, प्रश्नपत्र वितरण, उत्तरपुस्तिका चेकजाँच गर्दा, थप उत्तरपुस्तिका वितरण गर्दा, उत्तरपुस्तिका बुझिलिँदासमेत उच्चसतर्कता कायम गर्नुपर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.