हुलाकी न्यूज, काठमाडौं : कोरोनाका कारण रोकिएका सबै तहको परीक्षा सञ्चालन हुने भएको छ।
सरकारले रोकिएका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सकिने जानकारी गराए।
कोरोना भाइरसको संक्रमणका कारण कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन। त्यस्तै विश्वविद्यालयहरुका परीक्षा पनि रोकिएका छन्।