हुलाकी न्यूज काठमाडौंः सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ। बिगत ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधिसमेत बढ्न थालेको छ। तर, पर्यटक भने छैनन्।
नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन्। यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा नेपालीहरुको चासो बढी देखिएको छ।
नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुचारु भएका छन्।सीइओ रेग्मीका अनुसार पहिला ‘आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ,’त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं।’
नेपालमा पर्यटकीय गतिविधि प्रारम्भ भएपनि आम मानिसमा अन्यौल कायम छ। हवाई उडान शुरु भएका तीन गन्तब्य लुक्ला, मुगु र डोल्पा विमानस्थलमा स्थानीय सरकारले पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य भनेका छन्।
यसले ती क्षेत्रको गन्तब्यमा जाने यात्रुले कोरोना परीक्षण गराउनै पर्नेछ। दुर्गमका गन्तब्यमा पर्याप्त पूर्वाधारको अभाव छ। सबैतिर सामाजिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना हुनेमा पनि पर्यटक ढुक्क हुनसक्ने वातावरण छैन। महामारीका बेला जहाँ सहज छ, त्यहीँबाट यात्रा गर्नुपर्ने बोर्डका सीइओ रेग्मी बताउँछन्। ‘पर्यटन उद्योगलाई बचाउन घुमफिरको विकल्प छैन,’ उनले भने, ‘तर यस्तो बेला आफू जान चाहेको गन्तब्यमा समस्या छ भने अर्को ठाउँको यात्रामा निस्कनु राम्रो हुन्छ।