हुलाकी न्युज, जनकपुरधाम । मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गरेका सिरहाका एक जना कोरोना संक्रमितको शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सिरहाको सुखिपुर नगरपालिका-२ का ५५ वर्षीय पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो ।

मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार उनको अस्पताल आउँदा आउँदै बाटोमा मृत्यु भएको हो । उनले भने, ‘दिउँसो १२ः३० बजेको थियो होला । एम्बुलेन्समा ल्याइएका बिरामीलाई उतार्न खोज्दा उनको मृत्यु भइसकेको अवस्थामा पायौं ।’

मृतक ती पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

सोमबारयता नोवेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोवेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर विराट पुर्‍याइएका उनको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको पाइएको इञ्चार्ज देवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.