
हुलाकी न्यूज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई छलफलमा आउन आग्रह गरेका छन्।
बिहीबार विप्लव र अन्य पार्टीका नेताहरुलाई पार्टी प्रवेस गराउँदै प्रचण्डले मूलधारमा आउन उनीहरुलाई आग्रह गरेका हुन्।
प्रचण्डले भने, ‘किरणजी, बाबुराममजी र विप्लवजी पनि मूलघारतिरै फर्केने विषयमा सोच्नु देश र जनताको हितमा हुन्छ, जे छन् विवादहरु हामी सबै सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ।’
‘हामी कुनै पुँजीवादी दुनियाँ निर्माण गर्दै छैनौँ, हामी कुनै साम्राज्यवादी, एकाधिकारवादी होइनौँ, हामी समाजवादी आन्दोलनको तयारीमा छौँ।’ प्रचण्डले भने।
प्रचण्डले कम्युनिस्ट पार्टीमा बहस र छलफल निरन्तर भइरहने दाबी गरे। उनले कम्युनिस्टहरू विभाजित भएकैले समस्या भएको भन्दै एक हुँदासाथ जनताले दुईतिहाइ दिएको बताए।



