हुलाकी न्यूज, काठमाडौं : विभिन्न विवादमा मुछिएका शंकरदास बैरागीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव बनाएका छन्।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
पूर्वपरराष्ट्र सचिव बैरागीले अमेरिकास्थित नेपाली दूतावास निर्माण हुँदाको ७५ लाख डलर कानुन मिचेर भुक्तानी गरेको आरोप लाग्दै आएको छ। उक्त भवन निर्माणमा अनियमितता भएको चर्चा थियो।
राजावादी हुँदै कांग्रेस निकट भएका बैरागी मुख्यसचिव हुनकै लागि नेकपा निकट भएको परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको दाबी रहेको छ।
उनी मुख्यसचिव हुन प्रधानमन्त्री ओली निकट विष्णु रिमाल र राजन भट्टराईसँग घनिष्टता बढाएका थिए।
यसअघि बैरागी विवादित पूर्वराजदूत लक्की शेर्पासँग पनि विवादमा मुछिएका थिए। बैरागी अमेरिकाका लागि राजदूत बन्न पनि इच्छुक देखिएका थिए।
मुख्य सचिव लेकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त भएपछि बैरागी मुख्य सचिवमा नियुक्त भएका हुन्।
मुख्य सचिवको दौडमा मोहनकृष्ण साप्कोटा र केदारबहादुर अधिकारी पनि दिए। नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निकटहरुलाई फकाउन सफल भएका बैरागी मुख्य सचिव बनेका हुन्।