हुलाकी न्यूज, बीरगंज : विद्युतमा लोडसेडिङ्ग बढेको भन्दै बीरगंजबासीसहित सांसद पनि धर्ना दिएका छन्।
सांसद प्रदिप यादवसहित बीरगंजबासीहरु विद्युत प्राधिकरण पर्सा अगाडि धर्नामा बसेका हुन्।
लोडसेडिङ्गको अन्त्य, लकडाउन अवधिको जरिवाना छुटलगायतको माग गर्दै विहान १० बजेदेखि एक घण्टा धर्नामा बसेको सांसद यादवले हुलाकी न्यूजलाई जानकारी दिएका छन्।
विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरीवाना लिन थालेको र अनावश्यक विद्युत कटौती गर्न लागेकोले त्यसको विरोधमा धर्ना दिएको सांसद यादवले बताए ।
सांसद यादवले भने,‘सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको छ । तर विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महसुलमा २५ प्रतिशत जरीवाना लिएर पर्साबासीलाई अनावश्यक दुःख दिइरहेको छ, विद्युत प्राधिकरणबाट कुलमान घिसिङ हट्ने वित्तिकै विद्युत कटौति सुरु हुने किन ? अनावश्यक जरीवाना किन लिएको ? प्राधिकरणको नियत के हो ?’
पैसा बुझाउन एक महिना समय दिनुपर्ने, २५ प्रतिशत जरीवाना अर्को बिलमा मिलान गर्नुपर्ने उनको माग छ। अन्यथा विद्युत प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी उनले दिए ।
धर्नामा प्रदेश सभा सदस्य मंजुर आलमलगायत जसपाका कार्यकर्ताहरु पनि सहभागी थिए।