
हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपालाई संवैधानिक परिषद्माथि राजनीति नगर्न चेतावनी दिएको छ।
नेकपाको सचिवालयमा छलफल गरेर संवैधानिक परिषद्बाट नियुक्त नगर्न कांग्रेसले चेतावनी दिएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्बाट राजनीतिक नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजगसमेत गराएका छन्।
‘नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ। लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’ शर्माले भनेका छन्।
‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाई गरियो। अध्यादेशमार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो। नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।’ शर्माले भनेका छन्,‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउंदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ।’



