हुलाकी न्यूज, जनकपुरधाम : लकडाउन खुलेपछि मधेशको धार्मिक नगरी जनकपुरका होटल सरसफाइ गरेर चिटिक बनाइएको छ। पाहुना आउँछन् कि भनेर आशिंक रुपमा होटलहरु खोलिएका छन्।
तर, होटलमा बासका लागि पाहुना नआएपछि व्यवसाय नै धरमराएको छ। जनकपुरधामको जानकी मन्दिर पर्यटकको रोजाइमा पर्छ। महिनौसम्म बन्द रहेको जानकी मन्दिर खुले पनि पर्यटक भने आएको छैन।
कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण लामो समयको अन्तरालपछि एक सत्तादेखि जानकी मन्दिरसंगै यहाँका होटल खुल्न थालेका छन्। तर, होटेलमा बास लिने ग्राहक न्युन हुँदा व्यवसाय धरमराएको रिद्धसिद्ध होटलका सञ्चालक सरोज सिंह बताउँछन्।
होटलमा ९० प्रतिशत कारोबार हिस्सा ओगटेको पर्यटन क्षेत्र, सभा, गोष्ठी र सामरोह जस्ता कार्यक्रमहरु नहुँदा होटेल व्यवसाय धरमराएको होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए।