हुलाकी न्युजः नेपाल सरकारले खरिद गरेको रेल अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरिएको छ । भारतमा निर्माण भएको दुई सेट रेल भारतले नेपाललाई हस्तान्तरण गर्दै उक्त रेल अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरिएको छ ।
शुक्रावार भारतमा निर्माण भएको रेल बर्षो पछि जनकपुरधाम पुग्न सफल भएको छ । यसैक्रममा, भारत सरकारको प्रतिनिधिका रुपमा आएको मुख्य यान्त्रिक अभियन्ता दिपक त्रिपाठी नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराईलाई औपचारिक रूपमा रेल हस्तान्तरण गर्नुभएको थियो ।
यसैबिच, हस्तान्तरणको क्रममा भारत सरकारको प्रतिनिधि त्रिपाठी संगै आएका रेल अधिकारी जिवी नागिन्दरले नेपाल सरकारले भने बमोजिम नै यो रेल अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गर्नभयो । उहाँले यसमा दुई ओटा ईन्जन संगै विश्वको जुनसुकै ठाउँमा जाँदा पनि फिक्का नपर्ने बताउनुभयो ।
त्यसक्रममा रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराई रेल आएकोमा खुसी जनाउँदै केही महिना भित्रमै सञ्चालन हुने आश्वासन दिनुभयो । यसैगरी, धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइ करिब २ महिनापछि विवाह पञ्चमीको समयमा रेल सञ्चालनमा आउने बताउनुभयो ।
उहाँ रेल आएसँगै सर्वसाधारणलाई यातायातमा सहज तथा व्यापारमा समेत सहयोग पुग्ने बताउनुभयो । करिव ७ वर्ष पश्चात आएको रेल हेर्नका लागि सर्वसाधारणको व्यापक भीड देखिएको थियो ।
रेल आउने भएपछि विहानदेखि इनर्वा, खजुरी, वैदेही, परबाहा, जनकपुरधामलगायत हल्ट तथा स्टेशनहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुगेका थिए । लामो समय पश्चात नेपालमा पुनः रेल सञ्चालन हुन लागेपछि उनीहरू उत्साहित देखिएका छन् ।
उनीहरू रेल चलेसँगै सर्वसाधारणलाई आवाजाही गर्न सहज हुनुका साथै यस क्षेत्रको अर्थ व्यापारमा पनि सुधार हुने बताएका छन् ।
नेपाल सरकार भारतसँग करिब ८५ करोडमा दुई ओटा रेल खरिद गरेका छन । डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट रेल पाँच डिब्बाको रहेको छ । रेल सुरुवातमा जयनगर-जनकपुर-कुर्था सम्म चलाउने तैयारी गरिएको छ ।