अमरेन्द्र कुमार यादव, धनुषा ७ कार्तिक । विजयादशमी सकिएसँगै मधेशी मोर्चाले मधेश आन्दोलन चर्काएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् ।
प्रहरीले यात्रुबाहक र मालवाहक गाडी एस्कर्टिङ गर्ने क्रममा धनुषामा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा प्रहरी र प्रदर्शनकारीबीच गएराति दोहोरो झडप भएको हो ।
पुर्वकोलागि एस्कर्टिङ गरेर महोत्तरीको बर्दिबासबाट छुटेको गाडि ढल्केवर हुँदै जाने क्रममा मधेशी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । प्रहरीले २९ राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
त्यस्तै शुक्रबार राति नै सप्तरीमा पनि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।
प्रहरी एस्कर्टिङमा रहेका सवारी साधनमाथि सप्तरीको कोसीब्यारेज, भारदहस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा ढुंगा प्रहार भएको छ । सो क्रममा प्रहरीले दुई दर्जन बढी राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले ढुंगा प्रहार गर्ने यूवाहरुमाथि लाठी चार्ज गर्दै सशस्त्र तथा नेपाल प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेर प्रदर्शनकारीको भिडलाई तितर–वितर पारेका थिए ।
तस्विर : फाइल फोटो



