
हुलाकी न्यूज, काठमाडौं : पत्रकार बीरेन्द्र साहका अर्का हत्यारा पनि पक्राउ परेका छन्।
बाराका पत्रकार साहका हत्याका अभियुक्त रहेका हरेराम पटेल बिहीबार कोल्हवीबाट पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जनाएका छन्। पत्रकार साहको हत्याको घटना भएको १३ वर्षपछि पंगेनी पक्राउ परेका हुन्।
तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट पत्रकार साहको २०६४ असोज १८ मा अपहरण गरी हत्या गरेको थियो। बाराको साविक तेलकुवाँ गाविस ४ हाल महागढीमाई नगरपालिका २ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए।
हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेशी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ।
करिब सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए भने मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन्।



