हुलाकी न्यूज, जनकपुरधाम: जनकपुरधाम ४ स्थित नुनीय कुट्टीमा रहेको हनुमान मन्दिरमाथि तीन पटक आक्रमण गरी तोडफोड गरिएको छ। तर, मन्दिरमा तोडफोड गर्नेहरुमाथि कुनै कारवाही भएको छैन।

नुनीया कुट्टीको जग्गा अतिक्रमण गर्न भूमाफिया प्रेमबाबु साहसहितको समूहले वर्षौ पुरानो हनुमान मन्दिर तोडफोड गरेका थिए। पुनः मन्दिर निर्माण गर्न थालिएपछि पटक–पटक गरी तीन पटक मन्दिरमा तोडफोड भएको नुनीया कुट्टीका अगुवाहरुको भनाई छ।

स्थानीयवासी तथा नुनीया जातीका अगुवाहरुले भूमाफिया समूहको पटक–पटक प्रतिकार गरी मन्दिर तथा जग्गाको रक्षा गर्दै आएका छन्। भूमाफियाहरुले मन्दिरमाथि आक्रमण गर्दा भूमाफियाहरुलाई प्रहरीले नै संरक्षण गरेको भिडियोहरुमा देखिएको छ।

नुनीया समाजका अगुवा रामृष्ण महतोले हुलाकी न्युजसँग भने,‘भूमाफियाहरुले प्रहरीसँग सेटिङ मिलाएर मन्दिरमाथि आक्रमण गरेका थिए। अपराधीहरुलाई पक्राउ गरेनन्। अन्तिम पटक आक्रमण गर्दा हामीले दुई जनालाई प्रक्राउ गरी प्रहरीमा बुझायौं। र, सात जनामाथि किटानी जाहेरी दियौं।’

किटानी जाहेरी, महिलामाथि दुव्र्यबहार र चोरीलगायतको मुद्दा दिइएपनि सार्वजनिक अपराधमा मात्र जाहेरी दर्ता भएको उनी बताउँछन्।

मन्दिर तोडफोड भएकोले प्राचीन स्मारक तोडफोड अन्तरगत मुद्दा चलाउनु पर्नेमा प्रहरीकै सेटिङमा सार्वजनिक अपराधको मुद्दा चलाइएको महतो बताउँछन्।

घटना स्थलबाटै प्रहरीलाई बुझाइएका रंजनकुमार कर्ण र रामबाबु सिंह प्रहरी हिरासतमा छन् भने बाँकी पाँच जना फरार सुचीमा रहेपनि जनकपुरधाममा खुल्ला घुमी रहेको उनको भनाई छ। प्रहरी र भूमाफियाको मिलिमतोमा उनीहरु खुल्ला घुमी रहेको नुनीया अगुवाहरुको भनाई छ।

फरार सूचीमा जनकपुरधाम उपमहानगरपालिका १३ का वडा अध्यक्षका छोरा रोशन मण्डल रहेका छन्। उनी यसअघि बलात्कार काण्डका आरोपित हुन्। यसैगरी, विभिन्न घटनामा मुछिएका चार्जज भनिने जितेन्द्र पासवान र महिला हिंसा जस्ता घटनामा मुछिएका मोनाजिरुल राइन फरार सुचीमा रहेको धनुषा प्रहरीले जनाएको छ।

यसैगरी, फरार सुचीमा प्रेमबाबु साह, संतोष झा रहेका छन्। धनुषा प्रहरीले फरार सूचीमा रहेकाहरुको खोजी भइरहेको जनाए।

यता रसिक विहारी भगवान तेली कुट्टीमा आक्रमण गरी तोडफोड गर्नेहरुमाथि पनि कारवाही नभएको भन्दै विश्व हिन्दू महासंघले आपत्ति जनाएको छ।

के हो नुनीया कुट्टीको विवाद?

नुनीया कुट्टीलाई दान दिइएको जग्गाको मुल्य अर्वौ रुपैंया भएपछि जग्गामाथि भूमाफियाहरुको आँखा लाग्यो। वर्षौदेखि नुनीया कुट्टीले भोग चलन गर्दै आएको जग्गा अतिक्रमण गर्न दाता परिवारका केही व्यक्तिलाई भूमाफियाहरुले उचाले।

त्यसपछि विवाद सुरु भयो। दिनानाथ मारवाडीका छोरा र किशोरी देवी पौडेलले कुट्टीको जग्गा आफ्नो रहेको दाबी गर्दै जिल्ला अदालतमा मुद्दा लडे।

जिल्ला अदालतले जग्गा नुनीया कुट्टीको भोगचलन रहेको र दान दिइएकोले जग्गा कुट्टकै भएको फैसला सुनाएको महतो बताउँछन्।

त्यसपछि दिनानाथका छोरा र किशोरी देवी पौडेल पुर्नावेदन र सर्वोच्च अदालतसम्म पुगे। सर्वोच्चले पौडेलको जग्गा भएको फैसला सुनायो। तर, भोगचलन कुट्टीको रहेको जनायो।

पौडेलले उक्त जग्गा आफूलाई लेखि दिएको भन्दै प्रेमबाबु साहले जग्गा अतिक्रमण गर्न खोज्दैछन्। र, पटक पटक आक्रमण गरी तोडफोड गरेका छन्।

जग्गा बारे बुझ्न खोज्दा प्रेमबाबु साहको मोबाइल नम्बर ९८२८ण्ण्९०२ मा सम्पर्क हुन सकेन्।

सयौं वर्षदेखि कुट्टी र मन्दिरको भोगचलनमा रहेकोले उक्त जग्गा कानुनी आधारमा नै कुट्टीकै हुनु पर्ने नुनीया जातीका अगुवाहरुको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.