हुलाकी न्यूज, वीरगंज, ६ कार्तिक । विजयादशमीमा आन्दोलन खुकुलो बनाएका मधेशी मोर्चाहरुले शुक्रबारबाट आन्दोलन कडा पार्दै सवारी आवागमन र सामान ओसारपोसारमा रोक लगाएका छन् । शुक्रबार बारा र पर्साको विभिन्न ठाउँमा बन्द अवज्ञा गरेको भन्दै सामान बोकेका मालवाहक गाडी र मोटरसाइकलमा तोडफोड गरिएको छ भने तस्करी गरेर ल्याइएको डिजेल पेट्रोल नष्ट गरिएको छ ।

मधेश आन्दोलनको अवज्ञा गरी सामान ओसारेको भन्दै आन्दोलनरत दलका कार्यकर्ताहरुले वीरगंजको बाइपास रोडमा अवस्थित ब्रम्ह चोकमा शुक्रबार साँझ एउटा मालवाहक ट्रकमा तोडफोड गरेका छन् ।

चितवन लैजानका लागि दाल, चामल, खुर्सानी, नुन लगायतका उपभोग्य वस्तु लोड गरिएको ना ४ ख ४७७४ नम्बरको ट्रकमा तोडफोड भएको हो । तोडफोडबाट ट्रकको अगाडिको सिसा फुटेको छ ।

ट्रकमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएका छन् ।

यस्तै शुक्रबार नै वीरगंज पथलैया सडकखण्डको चैनपुर चौकमा आन्दोलनकारीहरुले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । वीरगंजबाट ग्यालेनमा पेट्रोल लिएर पथलैयातर्फ जाँदै गरेको बा १२ प २५४४ नम्बरको मोटसाइकलमा आगजनी गरिएको हो । आगजनीबाट मोटरसाइकल जलेर पुर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरुले बाराको बहुअरीमा बिहीबार राति धर्मनगर–९ निवासी सुरेश यादवको ना३प ७१४६ नम्वरको मोटरसाइकलमा आगजनी गरेका थिए ।

यस्तै पर्साको सखुवा प्रसौनीमा शुक्रबार बिहान स्थानीयवासीले भारतबाट तस्करी गरेर ल्याएको तीन सय लिटर डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका छन् । भारतबाट तस्करहरुले ल्याएको डिजेल स्थानीयवासीले नियन्त्रणमा लिएर नष्ट पारेको स्थानीयले बताएका छन् ।

यस्तै पर्साकै बैरियाबिर्ता गाविसको ध्यानसिंह पिपरा टोलमा पनि शुक्रबार बिहान स्थानीय युवाहरुले भारतबाट तस्करी गरेर ल्यएको २ सय ५० लिटर डिजल र पेट्रोल कब्जामा लिएर नस्ट पारेका छन् ।

वीरगंज पथलैया सडकखण्डको परवानीपुर र चैनपुरमा पनि शुक्रबार बिहान आन्दोलनकारीहरुले डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका छन् ।

आन्दोलनकारीहरुले परवानीपुरमा एक सय लिटर र चैनपुरमा एक सय ५० लिटर डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका हुन् ।

चैनपुरमा आन्दोलनकारीहरुले डिजेल कब्जामा लिएर नष्ट पार्ने क्रममा प्रहरीसँग सामान्य झडप पनि भएको तराइ मधेश विधार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले बताए ।

तस्विर : फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.