हुलाकी न्युजः प्रहरीको यातनाबाट रौतहटका १९ वर्षीय विजय महराको मृत्यु भएपछि गृह मन्त्रालयले तीनजना प्रहरीलाई निलम्बन गरेको छ । गृहमन्त्रालयको सचिवस्तरिय निणर्यबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एकजना प्रहरी निरीक्षक र प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट दुई जना प्रहरी हवल्दारलाई निलम्बन गरिएको हो ।

गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्बर ८, बसविट्टी जिंगडिया निबासी २० वर्षीय निरन्जन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका विजय महरालाई ती तीनै जना प्रहरीले यातना दिएको आरोपमा गृहमन्त्रालयले निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह संलग्न थिए ।

प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्बन गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निणर्यानुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको हो ।

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत तीन जनालाई निलम्बन गरे पनि ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोलाई भने प्रदेश प्रहरी कार्यालयमा तानेको छ । तर उनलाई समेत दोषी देखाउँदै दलित समुदाय र स्थानीय बासिन्दा भने दैनिक आन्दोलित हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.