हुलाकी न्युज : डा. सिके राउत नेतृत्वको जनमत पार्टी द्वारा भाद्र १२ गते बसेको केन्द्रिय समितीको अनलाइन बैठकले स्वराज आन्दोलनका प्रथम शहिद राममनोहर यादवको तेस्रो स्मृति दिवसमा स्थानिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।
निर्णय अनुसार यसपटक covid 19 को प्रकोपको समयमा सभा समारोह गर्न सम्भव नभएको कारण केवल स्थानिय पालिका स्तरमा मात्र सामाजिक दूरी कायम गरी एवं आवश्यक सावधानी अपनाई भाद्र १५ गते श्रद्धाञ्जली कार्यक्रम गरिनेछ भने निषेधाज्ञा लागु भएका ठाउंमा घर मै रही पार्टी नेता – कार्यकर्ताहरु द्वारा श्रद्धाञ्जली दिइनेछ ।
स्वराज आन्दोलनका प्रथम शहिद राममनोहर यादवको तेस्रो स्मृति दिवसमा आ-आफ्नो स्थानबाट श्रद्धाञ्जली मनाउन सम्पूर्ण पार्टी पंक्ति,संघ संगठन , विद्यार्थी,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको छ।
२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप संगठनले लगाएको थियो ।
उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको जानकारी केन्द्रिय नेता अब्दूल खानले दिएका थिए । सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई लाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि भाद्र १५ गते मृत्युको मुखमा पुर्याएको आरोप छ ।
जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज सूर्यदेव यादवले आफ्नो फेसबुक वालमार्फत यस शोकको घड़ी लाई शक्तिको रुपमा परिणत गर्न सम्पूर्ण नेता कार्यकर्ता लाई आग्रह गरेका छन ।