अर्कना खातुन, काठमाडौं, ६ कार्तिक । नाकाबन्दीको मौका छोपी इन्धनको कालोबजारी गरेर पहाड पुर्याउने क्रम बढेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ध्यानाकर्षण भएको छ । वीरगंजमा मधेशी मोर्चाले गरेको कार्यक्रममा मोर्चाका नेताहरुले यस्तो काम रोक्न आग्रह गरेका छन् ।
नाकाबन्दी भएको एक महिना नाघीसक्दा पहाडी क्षेत्रमा इन्धनलगायतका आवश्यक सामानको अभाव सुरु भएसँगै कालोबजारी गर्ने र लुकिछिपी पहाड पुर्याउने क्रम बढेको छ । भारतबाट ब्यापक मात्रामा पेट्रोल र डिजेलको तस्करी गरी पहाडमा पुर्याउनुले शासकहरुलाई सहयोग पुगेको मधेशी मोर्चाको ठहर छ ।
नाकाबन्दीको समयमा इन्धन तस्करी गरी पहाडी क्षेत्रमा पुर्याइनुले जारी आन्दोलनको घोर अपमान भएको भन्दै आन्दोलनमा अवरोध पुर्याउने कार्यलाई रोक्न स्थानीय जनसमुदायलाई सक्रिय हुन पनि मोर्चाले अपिल गरेको छ ।
संघीय समाजबादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवको संयोजनमा बसेको बैठकले, नाकाबन्दी तथा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन बारा, पर्सा र रौतहटका बिभिन्न गाँउबाट आएका सर्वसाधारण जनता र संघसंगठनलाई धन्यबाद दिएको छ ।
नेता यादवले तस्करी गर्ने आन्दोलनविरोधीहरुलाई रोक्न ठूलै कदम उठाउने चेतावनी दिएका छन् ।
बैठकमा तराइ मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनल, संघीय समाजवादि फोरम नेपालका महासचिव रामसहाय यादव, सभासद रमेश पटेल, सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष, तराई मधेश सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहालगायत केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।



