विश्वका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामका मठ–मन्दिर तथा सरोबरहरु अतिक्रमित हुँदै गएको छ। गुठीका जग्गा र पौराणिक मुर्तिहरु कौडीको भाउमा बेचिएका छन्।

जनकपुरधामका मठ–मन्दिरको अतिक्रमित जग्गा बारे छानविन गर्न भोजराज घिमिरे, हरि बख्तीलगायतका व्यक्तिहरुको नेतृत्वमा पटक–पटक गरी करिब आधा दर्जन छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। तर, हालसम्म कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन भएको छैन। र, जनकपुरधामका विभिन्न मठ–मन्दिरका हजारौं विगहा जग्गा भूमाफियाहरुले कब्जा गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जानकी मन्दिरदेखि रामानन्द चौकसम्म जाने बाटोमा बाह्र विगहाको दक्षिण–पश्चिम कुनाभन्दा सय मिटरको दुरीमा रहेको कपाल मोचनी सरको जग्गा पनि अतिक्रमणमा पर्दै आएको छ। उक्त सरोबरको किनारका जग्गाहरु अतिक्रमणमा पर्दा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा जग्गाहरु खाली गराइएको थियो।

उक्त सरोबरको चारैतिर विभिन्न मठ–मन्दिरको जग्गा रहेको छ। सोही स्थानमा सार्वजनिक जग्गा मै सांसद कौशल यादवको नेतृत्वमा पताञ्जली योग आश्रम पनि बनाइएको छ। तर, सरोबरको पश्चिमी किनारमा एक कठा जग्गा बीबीसी नेपाली सेवाका संवाददाता एवं जनकपुर टुडेका सम्पादक बृजकुमार यादवको पत्नी सीता देवी यादवको नाममा २०७५ माघ १० गते लालपुर्जा खडा गरिएको छ।

जानकी मन्दिरको उक्त जग्गा यादवको नाममा निजी कसरी भयो? भन्ने प्रश्न महत्वपूर्ण रहेको छ। स्थानीय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले उक्त मन्दिरको जग्गा व्यक्तिको नाममा कसरी विक्री भयो भन्ने बारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न आवश्यक छ। र, जग्गा पुनः जानकी मन्दिरकै सम्पतिको रुपमा राख्न आवश्यक छ।
जानकी मन्दिरको जग्गा आफ्नो श्रीमतिको नाममा लालपुर्जा रहेको भन्दै सम्पादक यादवले उक्त जग्गा खाली गराउन योग शिविरको केही संरचना पनि बल प्रयोग गरी भत्काए। सांसद कौशल यादवले विरोध गर्दा बृजकुमार यादव सम्पादक रहेको पत्रिकाको प्रथम पृष्ठमा सांसद यादवका विरुद्ध समाचार आएको थियो।

अब यादवले आफ्नो करिब ८ धुर जग्गा रसिक विहारी भगवान मन्दिरको कम्पाउन्डभित्र रहेको दाबी गर्दै आएका छन्। उक्त मन्दिर सयौं वर्ष पुरानो रहेको छ। र, यादवले जानकी मन्दिरको जग्गा पत्निको नाममा गराएको करिब २ वर्ष मात्र भएको देखिन्छ।

बीबीसी संवाददाता बृजकुमार यादवले रसिक विहारी मन्दिर भत्काएर जग्गामाथि कब्जा गर्न विगत केही महिनादेखि प्रयास गरेपनि असफल रहेको थिए। जसकारण उनको नेतृत्वमा भदौ १० गते मध्य राति हातहितयारसहित गएको समूहले मन्दिरको पर्खाल भत्काए। योग आश्रम र मन्दिरमा रहेका साधुसन्तहरुलाई धम्की पनि दिए।

भदौ १० गते मध्य रातमा धार्मिक संस्थामा तोडफोड हुँदा धनुषा जिल्ला प्रशासन मौन रहनु रहस्यमय छ। राति नै मन्दिर तोडफोड गर्ने समूहलाई नियन्त्रणमा लिइ प्रशासनले कारवाही अगाडि बढाउनु पर्ने थियो। तर, ११ गतेसम्म पनि मन्दिरमा तोडफोड गर्ने कुनै व्यक्ति पक्राउ परेनन्।

मन्दिर तोडिएको भन्दै ११ गते दिउँसो एक समूह जनकपुरधामको सडकमा विरोध प्रदर्शन गर्न निस्किए। र, उक्त समूहका केही व्यक्ति विरोध प्रदर्शन गर्दै बृजकुमार यादवको घर नजिक हुँदै गुज्रिए। जसक्रममा आक्रोसित भिडले उनको घरमा ढुँगामुढागरेको देखिन्छ। यहाँ पनि प्रशासनको कमजोरी देखिन्छ किनभने भिडले ढुँगामुढा गर्दा प्रहरी त्यही उपस्थित थियो। यस घटनाका विषयमा पनि छानविन हुनु पर्छ।

कुनै अपराधिक समूहले मध्यराति हिन्दूहरुको मन्दिरमा तोडफोड गर्दा धार्मिक दंगा भड्किने त्यतीकै सम्भावना देखिन्छ।
अहिले रसिक विहारी भगवन मन्दिरसँग जोडिएका जातीय र धार्मिक व्यक्तिहरुले तोडफोडको विरोध गर्दैछन्। जनकपुरधाममा विभिन्न जातीय कुटी र मन्दिरहरु रहेकोले मन्दिरसँग सम्बन्धीत जातीय समूहले आफ्नो मन्दिरको बचाउ गर्नु स्वभाविक देखिन्छ । त्यस्तो धार्मिक धरोहर जोगाउन सबैले सहयोग गर्नुपर्छ । यसअधि नुनिया कुटीको जग्गा पनि भूमाफियाले कब्जा गर्न खोज्दा नुनीया जातीहरु आन्दोलनमा उत्रिएका थिए। तर, भूमाफियाको जातीका व्यक्तिहरुले भूमाफियालाई समर्थन गरेनन्।

तर, जानकी मन्दिरको जग्गा निजी बनाएका बीबीसी सम्वाददाता बृजकुमार यादवको पक्षमा एउटा जातीय संगठन नै लागेको देखिन्छ। जसले शहरमा मोटरसाइकल रैली गर्दै जातीय नारा लगाउँदै १०१ सदस्य जातीय लडाकु दस्ता खडा गरेको छ। यसैगरी कुनै व्यक्तिले सार्वजनिक सम्पति कब्जा गर्ने र आफ्नो अपराधलाई जोगाउन जातीय संगठनको सहारा लिने उपयुक्त होइन ।

भूमाफियाहरुको कुनै जात धर्म हुँदैन त्यसकारण कुनै पनि मठ–मन्दिरको जग्गा अतिक्रमण गर्ने अपराधीलाई जोगाउन कुनै जातीय संस्था लाग्नु हुँदैन।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.