हुलाकी न्यूज, रौतहट, ६ कार्तिक । विजय गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रीक रौतहटका अध्यक्ष अजय कुमार गुप्तालगायत जिल्ला कार्य समितिका अधिकाशं सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीको भ्रातृ संगठनका अध्यक्षहरुले पनि पार्टी परित्याग गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रौतहटका जिल्ला अध्यक्षसहित अधिकांशले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् ।
पार्टीका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार पार्टीको निर्णय बिना नै सरकारमा सहभागी भएको कारण सामूहिक राजीनामा दिएको अध्यक्ष गुप्ताले जनाएका छन् । उनीहरुले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन रहेको पनि बताएका छन् ।
मधेश र मधेशीको अधिकार सुनिश्चित गराउन शुरु भएको आन्दोलन दुई महिना लामो अवधिमा पुग्दा र ४२ जना शहिद हुँदासमेत सरकार पक्षबाट कुनै सुनवाई नभएको अवस्थामा आफ्नै पार्टी पनि सरकारमा सहभागी हुनु मधेशी जनताको भावनाविरुद्ध भएको भन्दै आफूहरुले पार्टी परित्याग गरेको गुप्ताले बताए ।
कार्यसमिति अध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु, पार्टीका शिक्षक, युवा, दलित र किसान सँगठनका अध्यक्ष, विभिन्न क्षेत्रका क्षेत्रिय अध्यक्षहरुले समेत सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेको उनले जानकारी दिए । पार्टी परित्यागपछि आफूहरु झनै सशक्तरुपमा मधेश आन्दोलनमा सहभागी हुने उनले बताए ।




