हुलाकी न्यूज, लहान, ६ कार्तिक । सिरहाको लहानमा मधेशी मोर्चाका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गरेका छन् । विजयादशमीसम्म आन्दोलनलाई केही खुकुलो बनाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका अन्य मधेशी मोर्चाहरुले दशमी सकिएसँगै राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
बिहानैदेखि माइकिङ गर्दै मोर्चाका कार्यकर्ताहरुले लहानका सम्पूर्ण पसल बन्द गराएका छन् । मोर्चाले लहानमा शनिबारबाट आन्दोलन थप सशक्त बनाउने र मोटरसाइकलसमेत चल्न नदिने जनाएको छ ।
राजमार्गसँगै सहायक सडकहरुमा पनि शनिबारबाट मोर्चा कार्यकर्ताहरु खटिएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजलाल यादवले बताए ।
यसैगरी, सिरहाको गोलबजारमा पनि मोर्चा कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्तारुले गोलबजारका सबै पसलहरु पनि बन्द गराएका छन् । सिरहाको मिर्चैया बजार पनि मोर्चा कार्यकर्ताहरुले बन्द गराएका छन् ।
तस्विर : फाइल फोटो



