हुलाकी न्यूजः प्रदेश २ का मन्त्री, सांसद र मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरुमा प्रवेश निषेध गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा संक्रमण भेटिएपछि मधेस भवन सुनसान देखिन थालेको छ ।
कोरोना संक्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्री सहित केही मन्त्री निवासबाटै कार्यसंचालनमा जुटेको र केही मन्त्री आफ्नो गृह जिल्ला पुगेको बताइएको छ । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार संक्रमित कर्मचारीहरु आइशोलेसनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताला झुण्डिएको छ।
मधेस भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन्। मन्त्रीहरुको निर्देशनबमोजिम अनुमतिबिना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँसिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित ८ कर्मचारी, सामाजिक विकास मन्त्रालयका ३ कर्मचारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारीमा कोरोना पुष्टि भएको थियो।



