हुलाकी न्यूजः अनुदानको मल कालोबजारी गरेको आरोपमा रौतहटमा एक जना जेल चलान भएको छ । प्रहरी अनुसन्धानपछि दायर भएको मुद्दामा राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह चेल चलान भएको हो ।
सञ्चालक साहले धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएको छ । साहलाई जिल्ला प्रशासन कार्यालयले बाहिर बसि पुर्पक्ष गर्नको लागि ३० लाख धरौटी रकम माग गरेकोमा बुझाउन नसकेपछि साह गौर कारागार चलान भएका हुन् ।
गत असार १५ गते चन्द्रपुर नगरपालिका-१ स्थित बाग्मती बजारमा रहेको तीन वटा सहकारी संस्थाको नामबाट अनुदानको मल खरिद गरी कालोबजारी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ तथा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय गौरमा मुद्दा दायर गरेको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ बाग्मतीस्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेड र उन्नतिशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा कृषि सामग्री कम्पनीबाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा खरिद गरी बाहिरी जिल्ला मकबानपुर र सर्लाहीमा बढि मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरी मुद्दा बुझाएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख रबी केशरी, वडा अध्यक्ष बिरु रखाल सहित २५ जना माथि अनुदानको मल कालोबजारी गरेको अभियोग लगाउदै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । आरोप लागेका अन्य भने फरार रहेका छन् ।