हुलाकी न्यूजः मालपोत कार्यालय पर्साका एक लेखनदास जग्गा किर्ते प्रकरणमा पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका(५ मेनरोडमा स्व. कमला राजभण्डारीको नामको जग्गा किर्ते कागज तयार गरी नक्कली छोरा बनाएर नामसारी गरेको कसुरमा पक्राउ परेपछि अनुसन्धान सुरु भएको छ ।
मालपोत कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा जग्गा किर्तेबारे सोमबार लिखित जानकारी गराएपछि प्रशासनले किर्ते मुद्दामा छानबिन गर्ने जिम्मेवारी प्रहरीलाई सुम्पेको थियो ।
पर्सा प्रहरीले मालपोत कार्यालय पर्साका लेखनदास अमर साह कानु गुप्तालाई पक्राउ गरेको हो ।
बुधबार बिहान मालपोत कार्यालय नजिक रहेको कानुको च्याम्बरबाट सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सोही घटनाको साक्षी बसेका अर्का लेखनदास प्रमेश साह कानु फरार छन् । अमर पक्राउ परेपछि प्रमेश फरार भएको बुझिएको छ ।
स्वर्गीय कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले करोडौं मूल्यको मेनरोडको करिब साढे पाँच कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गराएका थिए ।
अमरलाई पक्राउ गरेपछि उनी पनि फरार भएका छन् । स्व कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले फागुन १२ गते वीरगन्ज महानगरपालिका(५ कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नम्बर ३ को १२७३.८ वर्गमिटर, कित्ता नम्बर १८६ को १०३.४ वर्गमिटर र कित्ता नम्बर १४३ को ८६.१० वर्गमिटर जग्गा मालपोत कार्यालय पर्साबाट नामसारी गराएका थिए ।
फागुन १८ गतेको यो घटना अहिले असार २४ मा मुकेशलाई ५० लाख बैना दिएको तमसुक बनाएका वीरगन्जका गिरधारीलाल अग्रवाल (वंशल) ले मालपोतमा जग्गा रोक्का गराएपछि चर्चामा आएको हो ।
यसबारेमा प्रमुख मालपोत अधिकृत सुमन झासँग बुझ्दा उनले यो घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पत्राचार गरिएको र प्रशासनले किर्ते जालसाजीको मुद्दा प्रहरीबाट अनुसन्धान हुने भन्दै जिम्मा लगाएको बताए ।
मालपोत अधिकृत झाले आयोमेलसँग कुरा गर्दै भने, ‘घटना सम्बन्धमा असार २७ गते स्व. कमला राजभण्डारीको तीन आफन्त प्रतिनिधि बनेर आएको र जग्गाधनीको प्रतिनिधि भएर काठमाडौंबाट आएकाले उनीहरूले यो जग्गा रोक्का गर्नुपर्छ भने ।’
अधिकृत झाले रजिस्ट्रेशन पास गर्ने बेलाको मन्जुरीनामा, मृत्युदर्ता, तीन दाजुभाइको नागरिकता, ललितपुर महानगरपालिका-३ ले दिएको सिफारिस पत्र, नाता प्रमाणितको कागज, अस्ट्रेलियास्थित नेपाली दूतावासले लेखेको पत्र तथा काठमाडौंबाट प्रतिनिधि बनेर आएकाहरूको कागज फरक(फरक पाइएको बताए ।
रजिस्ट्रेशन पास भएको बेला पेस गरेको ललितपुर महानगरपालिका(३ को सिफारिस पत्रबारे वडाध्यक्षसँग बुझ्दा उक्त पत्र वडामा दर्ता नभएको प्रतिक्रिया दिएका थिए ।
एउटा जग्गाको दुईथरि कागजात फेला परेपछि किर्ते गरिएको घटना बाहिर आएको हो। अहिले सबै जग्गा रोक्का राखिएको झाले बताए ।
मालपोत कार्यालयसमेतले अनुसन्धान गर्दा वडा कार्यालयको सिफारिसदेखि नाता प्रमाणित, नागरिकता, दूतावासमा भएको मन्जुरीनामालगायत सम्पूणर् कागजपत्र नक्कली भएको पुष्टि भएको छ ।
सबै प्रकरणको रचयिता गिरधारीलाल अग्रवाल भएकाले उनी पनि अनुसन्धानको घेरामा रहेको मालपोत स्रोतले जनाएको छ ।