हुलाकी न्यूजः वीरगञ्ज कारागारमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कारागारमा बन्दी जीवन बिताइरहेकी वीरगञ्ज महानगर-१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिएका छन् ।
पर्सा जिल्ला अदालतले उनीविरुद्ध लागुऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।
‘१५ वर्ष कैद भुक्तानी भइसकेको थियो, जरिवाना तिरेको भए उनी छुट्ने अवस्था थियो,’ जेलर पोखरेलले भने, ‘जरीवाना तिर्न सकिनन्, जरिवानाका लागि चार वर्ष कैद बस्नुपर्ने हुन्थ्यो ।’
खातुनको गएराति ११ बजेर ३४ मिनेटमा उपचारको क्रममा निधन भएको पोखरेलले बताए । उनी क्रोनिक चर्म रोगको बिरामी रहेकी थिइन् ।
उनलाई हृदयाघात भएको आशंका गरिए पनि मृत्युको कारण पोष्टमार्टम पछिमात्रै भन्न सकिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।