रंजन भण्डारी, जलेश्वर, ५ कार्तिक । बुधबार शक्तीपिठहरुमा खोइछ भर्नेहरुको भीड लागेको थियो । महोत्तरीको त्रिशुलीमाई, संसारीमाई, बाह्न्वी सती, राजदेवी, बौधीमाई, गढीमाई, बुढियामाई, सोनामाई, पंचधुरा, रेखामाईसहितका दर्जनौं शक्तिपीठ तथा पंडालमा निर्मित माटाका दुर्गा भवानीसहितका प्रतिमाहरुमा खोइछ भर्न श्रद्धालु तथा ब्रतालु महिलाहरुको भीड लागेको थियो ।
कपडासहित नारिवल, फलफूल, चामल, केराउ, चना, मिष्ठान, श्रृंगारका सामग्री राखेर शक्तीपिठ तथा प्रतिमास्थलमा खोइछ दिनेको घुइँचो लागेको छ । मिथिलाञ्चलमा भगवतीलाई मात्र नभई विवाहित छोरी, बुहारीलाई पनि घरबाट अन्यत्र पठाउँदा खोइछ भरिदिने परम्परा छ ।
ब्रतालु तथा श्रद्धालुले सप्तमीदेखि नवमीसम्म आफूलाई पायकपर्ने समयमा खोइछ भर्ने परम्परा छ । पारिवारिक सुख तथा समृद्धिका लागि दशैंको अबसरमा भाकल गर्नेगरेका बाहेकले समेत भगवतीको खोइछ भर्ने गर्दछन् । खोइछ भर्दा प्राप्त हुने प्रसाद परिवार र अन्यलाई बितरण गर्दा सबैको कल्याण हुने बिश्वास रहि आएको छ ।
यसैबीच बर्दिवास–जलेश्वर सडक खण्डमा पर्ने सोनामाई मन्दिरमा भूत भगाउने मेला पनि बुधबार सम्पन्न भएको छ । सो अवसरमा सयौं राँगाको बली दिइएको छ । साथै जलेश्वरको राजदेवी मन्दिरमा प्रहरीले सलामी दिनुका साथै विभिन्न शक्तीपिठहरुमा बोका बली प्रदान गरिएको छ । यस पटक मधेश आन्दोलन र प्रहरी दमनका कारण गएको वर्षहरुमा भन्दा कम मात्रामा प्रदान गरिएको स्थानियहरुको भनाई छ ।



