नयाँ संविधान २०७२ जारी भएको उपलक्ष्यमा वडा दसैँको अवसर पारी महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट दुई महिलासहित छ कैदी रिहा भएका छन् । नयाँ संविधान जारी भएको उपलक्ष्यमा ४० प्रतिशत बढी कैद काटिसकेकालाई रिहा गर्ने नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ कात्तिक २ को निर्णयानुसार राष्ट्रपतिबाट कैदीलाई बाँकी कैद माफी मिनाहा गरी कैद मुक्त गरिएको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार रहेको जलेश्वर कारागारबाट रिहा हुनेमा ५० प्रतिशत कैद काटिसकेका कर्तव्यज्यान मुद्दाका महोत्तरी जिल्लाको सहोडवा गाविस–७ बस्ने श्रवण कुमार झा, सोही गाविस–८ बस्ने सुनिलकुमार झा, धनुषा जिल्ला गाढागुढी गाविस–२ बस्ने मोहन कुमार मण्डल र कुटपीट मुद्दाका महोत्तरी जिल्ला ईटहर्वाकट्टी गाविस–१ बस्ने महेन्द्र पासवान रहेका छन् ।
त्यस्तै, ४० प्रतिशत बढी कैद काटिसकेका कर्तव्यज्यान मुद्दाका सप्तरी जिल्ला बभनगामाकट्टी गाविस–५ बस्ने सरोजी सिंह र महोत्तरी जिल्लाको पर्सापतैली गाविस–२ बस्ने सुभद्रा देवी रहेको जेलर ठाकुरले बताउनुभयो ।
रिहा हुनेमध्ये श्रवणकुमार झा, सुनिलकुमार झा र महेन्द्र पासवानलाई दुई/दुई वर्ष कैद तोकिएको थियो भने मोहनकुमार मण्डललाई छ वर्ष कैद तोकिएको थियो । त्यस्तै, महिलाद्वय सरोजी सिंह र सुभद्रा देवीलाई २०/२० वर्ष तोकिएको थियो ।
यसैगरी चितवनको जिल्ला कारागार भरतपुरमा रहेका १६ कैदी रिहा भएका छन् । असल आचरण भएका र ५० प्रतिशत जेल भुक्तान गरेका उनीहरुलाई सरकारी निर्णय अनुसार रिहा गरिएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार रिहा हुनेमा एक महिला र १५ पुरुष छन् । संविधान जारी भएको उपलक्ष्य र बडादसैँको उपलक्ष्यमा यसरी सरकारले उनीहरुलाई रिहा गरेको काफ्लेले बताउनुभयो ।
रिहा हुनेमा चोरी, डकैती, कर्तव्यज्यान, ज्युमास्ने बेच्ने, नक्कली पैसाको कारोबारलगायत मुद्दाका रहेका छन् । सरकारले हरेक वर्ष असल आचरण भएका कैदी रिहा गर्ने गरेको छ । चितवनमा यसअघि कुल ५७० कैदी र थुनुवा रहेको तथ्यांक छ । तीमध्ये ५४ जना महिला थिए । अहिले १६ जना छाडिएपछि जिल्ला कारागारमा अहिले ५६३ जना कैदी र थुनुवा रहेको काफ्लेले जानकारी दिनुभयो । जिल्ला कारागारमा करिव १५० जति कैदी बन्दी राख्ने क्षमता भएपनि अहिले तेब्बर बढी कैदी र थुनुवा राख्दा समस्या परेको कारागारले जनाएको छ । रासस



