हुलाकी न्यूजः विगत केही दिन देखी भई रहेको अबिरल बर्षाका कारण महोत्तरीको जलेश्वर डुबानमा परेको छ । महोत्तरी र धनुषाको सिमाना भएर बग्ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि बाँध भत्किएको थियो ।

एकडारा गाउँपालिका ६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराबाट तटबन्ध भत्काउँदै खोला बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

जलेश्वर नगरपालिका ८ को रमौल र बजराही हुँदै बाढिको पानी जलेश्वरमा पसेपछि सो क्षेत्रका बस्ती जलमग्न भएको जलेश्वर २ अस्पताल चौकका बादल साहले जानकारी दिनुभयो । जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही, बहुअर्वा, पासवान टोल लगायतको बस्तीमा पनि विगही खोला पसेर डुबान भएको स्थानीयले बताएका छन् । घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् ।

केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो ।

उहाँले पानीको बहाब बढेर जोखिम सिर्जना भएमा खोज तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको कटुवालले जानकारी दिए । खोलाले बाँध भत्काएको रानी रतवारास्थित तटबन्ध टुटेको स्थानतर्फ नेपाली सेनाको टोली गइसकेको र त्यहाँ पानी रोक्न प्रयास गरिने बताउनु भयो ।

महोत्तरीमा प्रत्यक वर्ष बाढी र डुबानबाट ४० हजारभन्दा बढि मानिस प्रभावित बन्दै आएका छन् । यसवर्ष १९ हजार ७ सय ८८ घर र ८५ हजार मानिस बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.