हुलाकी न्यूजः धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ नै विस्थापित गरेको थियो ।
सोही गाउँसँगै कमला किनारमा रहेको वडा नं. १ को मलहनिया र फूलबारी गाउँका बासिन्दामा पनि त्रास बढेको छ । यी गाउँहरु कमला नदीको उच्च जोखिममा पर्ने गरेको छ ।
विगत २ दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण कमला नदीको पानि बढदै गएको छ । पानीको बहाव मोटो हुँदै गएपछि गाउँमा त्रास फैलिएको छ ।
यता, धनुषाको सबैला नगरपालिका वडा नं. १३ किरतपुर स्थित बाँधको अवस्था नाजुक भएको भन्दै स्थानीयहरुमा त्रास पैदा भएको कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए ।
यादवका अनुसार, इनरर्वा तर्फ अहिले अवस्था समान्य रहेपनि पानीको बहाब बढदै गएपछि त्रास पैदा हुनु स्वभाविक रहेको छ ।
कमलामा बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशिल रहेको उनले बताए । उनले शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आपतकालिन समाग्रीहरु उपलब्ध गराउने बताएका छन् ।
गत वर्ष आएको भिषण बाढीको त्रममा कमला नदीमा फँसेकाहरुलाई मेयर बरबरिया सहित उनको टिमले स्थलगत पुगेर बाढी अवधी भरि उद्धारमा जुटेका थिए ।
शहिदनगर नगरपालिकाको रामघाट, कमला नगरपालिकाको विभिन्न घाटको लागि अहिलेदेखि नै सतर्क भएको बताइएको छ । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले समेत आपतकालिन अवस्थालाई मध्यनजर गर्दै पूर्व तयारीमा लागेको बताएका छन् ।



