हुलाकी न्यूज, काठमाडौं, ४ कार्तिक । बुधबार अपराह्न सरकारी वार्ता टोली र मधेशी मोर्चाबिच औपचारिक वार्ता भएको छ । काठमाडौंको अनामनगरस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा दुई पक्षबीच वार्ता भएको हो ।

वार्तामा सहभागी रहेका मधेशी मोर्चाको वार्ता टोलीका सदस्य एवं तमलोपाको पार्टी प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले वार्तामा सरकारी टोलीले मधेशी एजेण्डा बुझ्न खोजेको बताए । मधेशी मोर्चाले प्रदेशको सीमांकन मुख्य मुद्दा रहेको बताउँदै सीमांकनको विषय नटुंग्याएसम्म अरु मुद्दामा नजाने बताएको शुक्लले जनाए ।

मधेशी मोर्चाले प्रदेशको सीमांकनका बारेमा सरकारको स्पष्ट धारणा लिएर आउन माग गरेको छ । सरकारी वार्ता टोलीले आईतबारको वार्तामा सीमांकनका बारेमा सरकारको धारणा राख्ने जनाएको छ ।

वार्तामा मधेशी मोर्चाले सरकार आफ्ना प्रतिबद्धताप्रति गम्भीर नरहेको आरोप पनि लगाएको छ । वार्ताका लागि मधेशी मोर्चाले राखेका पूर्वसर्तहरु निषेधाज्ञा र कर्फयू हटाउनु पर्ने, सेनालाई ब्यारेक पठाउनुपर्ने, आन्दोलनका घाईतेलाई निशुल्क उपचार हुनुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म यतातिर सरकार उदासिन देखिएको मोर्चाले सरकारी वार्ता टोलीलाई बताएको छ ।

बुधबारको वार्तामा सरकारी वार्ता टोलीका सदस्य कमल थापा, रामजनम चौधरी र रेखा शर्मा उपस्थित थिए । मधेशी मोर्चाको तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, रामनरेश राय यादव र लालबाबु राउत सहभागी थिए ।
मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच अर्को वार्ता आईतबार अपराह्न हुने शुक्लले जनाएका छन् ।

तस्विर : फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.