हुलाकी न्यूज, काठमाडौं : मधेशी महिलालाई होच्याएको तथा भेसभुसा र लवजको अपमान गरेको कान्तिपुर टेलिभिन र प्रस्तोता सन्दीप क्षेत्री विरुद्ध विभिन्न निकायमा उजुरी गरिएको छ।
कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द् फ्लप’को गत जुन २५ मा प्रशारित श्रृखंलामा मधेशी समुदाय र विशेषगरी मधेशी महिलाको स्वाभिमानमा चोट पु¥याएको भन्दै मधेशी युवाहरुले उजुरी दिएका छन्।
हुलाकमार्फत प्रहरी, प्रेस काउन्सिल तथा मधेशी आयोगमा उजुरी दिइएको छ।
बीरगञ्जका युवाहरुले जिल्ला हुलाक कार्यालय पर्सामामार्फत प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, टेलिभजनका सम्पादक प्रसान्त अर्याल, कार्यक्रम संयोजक सुरेश सिंह ठकुरी र कान्तिपुर समुहका निर्देशक कैलाश सिरोहिया विरुद्ध उजुरी दर्ताका लागि काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुलाई निवेदन पठाएका छन्।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ र उपदफा (१) बमोजिम मधेश र मधेशीलाई अपमानित गर्ने खालका सामाग्री सम्प्रेषण गर्ने टेलिभिजनका प्रस्तोता, निर्माता विरुद्ध कारबाहीको माग गरिएको छ।
जाहेरी दिनेमा अशोक कुमार कुशवाहा, ओमप्रकाश सर्राफ, वृजेश्वर प्रसाद चौधरी, आशु सर्राफ, लालबाबु सिंह, किसन सर्राफ, अमिता साह, श्याम कुमार सर्राफ, निशा गुप्ता र ओम कुमार झा रहेका छन्।
यसैगरी प्रेस काउन्सिल र मधेशी आयोगमा शरदसिंह यादवले उजुरी दर्ता गराएका छन्।
यसअघि मधेशीलाई अपमानित गरी कार्यक्रम सञ्चालन गरेको कृषि टिभी र देवी खड्काको टिकटकका विषयमा पत्रकार बीपी साहले नेपाल प्रहरीको साइबर ब्यूरोमा बारम्बार उजुरी गरेका थिए। तर, ब्यूरोले हालसम्म कुनै कारवाही गरेको छैन।
प्रहरीबाट कारवाही नभएपछि पत्रकार साहले सरकारी वकिलको कार्यालय, मधेशी आयोग र प्रदेश २ को मुख्यन्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए। तर, त्यहाँबाट पनि कुनै कारवाही गराउने प्रक्रिया अगाडि बढ्न सकेको छैन।