हुलाकी न्यूजः दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन् ।
लक्षणहरु देखिएपछि उनले सोमबार कोरोना भाइरस परीक्षण गराएका थिए । यो उनको चौथो कोरोना परीक्षण थियो । उनलाई ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गरिएको थियो ।
केही समयअघि उनी सार्वजनिक स्थलमा बिना मास्क देखिएका थिए । उनको समर्थनमा आयोजित एक र्यालीमा उनले समर्थकहरुसँग अंकमालसमेत गरेका थिए ।
कोरोना भाइरसबाट अति प्रभावित सूचीको दोस्रो स्थानमा छ ब्राजिल । त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६५ हजार नाघिसकेको छ । १६ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् ।



