
हुलाकी न्यूज, जनकपुरधामः जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय धनुषाको बेथितिले गर्दा सयौं शिक्षकहरुले दुःख पाएका छन्।
कार्यालयका प्राविधिक सहायक जयराम यादव पछिल्लो फागुन महिनादेखि नै कार्यालयमा उपस्थित नहुँदा सयौं शिक्षकको सरुवा, बढुवा, नियुक्ती र अवकासलगायतको कार्य प्रभावित भएको छ।
प्राविधिक सहायक यादव कार्यालयमा नआउँदा आफूसहित सयौं शिक्षकलाई मर्का परेको धनुषाका शिक्षक महेशी यादवले हुलाकी न्यूजलाई बताए।
मर्कामा परेका विभिन्न शिक्षकहरुले हुलाकी न्यूजलाई दिएको जानकारी पछि आज (असार २३ गते मंगलबार) हुलाकी न्यूज टीम कार्यालयमा विहान १०ः३० बजे पुग्दा प्राविधिक सहायक यादव उपस्थित थिएनन्। उनको हाजिर रेजिष्टर खाली रहेको थियो। (हाजिर रेष्टिरको तस्बीर)
तर, उनी १२ः३० बजेपछि कार्यालय पुगे र तीन महिनाभन्दा बढीको हाजिर एकैदिनमा गरेको कार्यालयका एक कर्मचारीले बताए।
यता कार्यालय प्रमुख बरखु प्रसादले आफू केही दिनदेखि कार्यालय बाहिर रहेकोले जानकारी नभएको प्रतिक्रिया दिए।
प्राविधिक सहायक यादवले भने लकडाउनका कारण असार १ गतेदेखि कार्यालय खुलेको तर आजबाट आफू उपस्थित भएको स्वीकार गरे। उनले कार्यालय प्रमुखलाई फोनबाट जानकारी गराएको दाबी गरे।




