आशिष गुप्ता, नेपालगञ्ज, ४ कार्तिक । बाँकेको खासकुस्मा मंगलबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये अहिलेसम्म ३ जनाको मात्रै नाम खुलेको छ । बुटवलदेखी नेपालगम्ञ्जका लागि छुटेको लु १ ख ५८२८ नं. को यात्रुबाहक बस मंगलबार बेलुका झण्डै ५ बजेको समयमा खासकुस्मा ८ चप्परगौढि नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परि १६ जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, नेपालगञ्ज भेरी अञ्चल अस्पताल र दाङ्गमा उपचार भइरहेको छ । मृत्यु भएका ८ जना मध्ये बुटवल १० सुक्कानगर बस्ने लोकमणि गैरैकी १८ बर्षिया छोरी सपना गैरे, रुपन्देही गजेडि १ ल्हासाकी टकमाँया राना र कोहलपुरका २ वर्षीय बालक नरेन्द्र पोखरेलको मात्रै नाम खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पोखरेलको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा मृत्यु भएकी सपना गैरेको परिबार दशैं मनाउन नेपालगञ्ज आउँदै थिए । ५ जनाको परिवारसँगै बसमा चढेका गैरेका बाबु आमा र २ भाइ भने सकुशल छन् । श्रीमती र २ छोरालाई बचाउन सफल भएपनि लोकमणि गैरैले छोरीलाई बचाउन सकेनन् ।
छोरी गुमाएका गैरेले चालकको लापरबाहीका कारण बस दुर्घटना हुन पुगेको बताएका छन् । गैरेका अनुसार बसमा झण्डै ४०–५० जना यात्रु रहेका थिए । दुर्घटना हुनुपुर्ब चालकले नियन्त्रण गुमाएपछी बसको छतबाट पेट्रोलका बोतलहरु खसेर आगजनी भएको गैरेले बताए । गैरेकी श्रीमती पनि सामान्य घाइते भएकी छन् ।
दुर्घटनाबाट घाइते बनेकी प्युठानकी संगिता केसीले चालकले पहिलैदेखिनै लापरबाही तरिकाले चलाइरहेको बताइन् । यसैबिच दुर्घटनामा परि मृत्यु भएका ७ जनाको शव पोष्टमार्टमका लागी भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । शव पुरै जलेका कारण पहिचान हुन सकेको छैन ।
बस पल्टिएर आगो लागेपछि चालक रण बहादुर केसी फरार भएको घाइते यात्रुहरुले बताएका छन् । केसी अहिलेसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । बसमा रहेका यात्रुहरु अझै हराइरहेका छन् । दुर्घटनामा परि गम्भिर घाइते हुनेहरुमा रुपन्देही तिलुखंमा न.पा. ५ बस्ने बर्ष ४५ की बबिकला न्यौपाने, रुपन्देही तिलुखंमा न.पा. ५ बस्ने बर्ष १९ की सपना न्यौपाने, रुपन्देही तिलुखंमा न.पा. ५ बस्ने बर्ष २२ का बिजय न्यौपाने, बाँके कोहलपुर.न.पा. ३ बस्ने बर्ष ३३ की मञ्जु पोख्रेल, दाङ्ग लमही न.पा. ११ बस्ने बर्ष ३७ को टिका गिरी (सह चालक) रहेका छन् ।
त्यस्तै सामान्य घाइते हुनेमा बाँके कचनापुर १ बस्ने बर्षं १८ का प्रकास पुन, कपिलबस्तु परसैया ५ बस्ने बर्ष ३५ की मिना आचार्य, सुर्खेत दशरथपुर ४ बस्ने बर्ष २९ का गजेन्द्र आचार्य, सुर्खेत दशरथपुर ४ बस्ने बर्ष २९ का लोक सिह कुमाल, रुपन्देही तिलुखंमा न.पा. ५ बस्ने बर्ष २२ का कासीराम खनाल, रुपन्देही गजुरी १ बस्ने बर्ष २५ का सुरज बुढाथोकी, कपिलबस्तु कृष्णनगर बस्ने बर्ष ३७ का सुमन काउचा, कपिलबस्तु कृष्णनगर बस्ने बर्ष ३० कीे सुनिता काउचा, कपिलबस्तु कृष्णनगर बस्ने बर्ष ११ का सिल बहादुर काउचा, कपिलबस्तु कृष्णनगर बस्ने बर्ष ३ की साउन काउचा, कपिलबस्तु कृष्णनगर बस्ने १५ महिना की सोनिया काउचा, रुपन्देही बुटवल सुक्कानगरका लोकमणी गैरे, उनकी श्रीमती बुद्व कुमारी गैरे, छोराहरु शिशर गैरे र सरोज गैरे तथा ठेगाना खुल्न नसकेकी मिना शर्मा यादब र सुनिल यादब रहेका छन् ।



