
पार्वती चौधरी ज्योति
म सात वर्षकी हुँदा बुवा सहिद हुनु भयो । बुबाको कमरेडहरुले मलाई काँधमा बोकेर परिवारका सबै सदस्यहरुलाई भूमिगत गरायो । कमरेडहरुले हामीलाई काँधमा बोकेर युद्ध लड्नु हुन्थ्यो । उनीहरु हाँस्दा, हामी रुँन्थ्यौ । उनीहरु रुँदा, हामी हाँस्थ्यौ । किनभने हामी अबुझ केटाकेटी थियौं । युद्ध मोर्चा केटाकेटीको खेल जस्तो लाग्थ्यो ।
तर, हामी जब बुझ्ने भयौं त्यसपछि थाहा भयो कि जनयुद्ध हामीलाई खेलाउन र भुलाउने स्थल होइन रहेछ । यो त परिवर्तनको महान अभियान रहेछ । हामी दिदीबहिनी दाजुभाइ युद्ध मैदानमै हुर्कियौ । युद्धकै धार इलाकाहरुमा रहेका स्कूलहरु चहार्दै शिक्षा दीक्षा हासिल गरे । पारिवारिक जेलनेल र यातनालयको कुरा त छदैछ ।
पंक्तिकारले सुरुमै यतिकुरा किन भनेकी हुन् भने यो पुस्तक लकडाउनमा मेरो बौद्धिक खुराक बन्यो । विगतको जनयुद्धलाई फेरि पनि ताजा स्मरणको रुपमा ब्यूताई दियो । यो पुस्तक पढ्दै जादा मुलुकमा अहिले पनि जनयुद्ध जारी छ भन्ने कुराको बोध गरायो । फरक यतिमात्र रहेछन् कि हिजो हिंसात्मक युद्ध थियो अहिले अहिंसात्मक छ । तर, हिजोको युद्धभन्दा कठिन छ, जटिल छ । सरल त पक्कै छैन् । त्यसैले भन्ने गरिन्छ, इतिहास निकै निर्मम र कठोर हुन्छ । इतिहासका यस्ता थुप्रै उदाहरण ´मध्यपहाडको यात्रामा समेटिएका छन् । जसले दशवर्षे जनयुद्धलाई पुनर दृश्यको रुपमा प्रदर्शन गरिदिएका छन् ।
सिन्धुलीमा जन्मेर जनयुद्धको कर्मभुमिमा हुर्केका गंगा श्रेष्ठ यतिबेला मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको महान यात्रामा छन् । त्यही यात्रा निर्माणको क्रममा जन्मेका कृति हुन् ´मध्यपहाड यात्रा` संस्मरण । पुस्तकमा विगत र वर्तमानको अाँधिबेहरी लुकेको छ । राष्ट्रियएकताको योजना तर्जुमा गरेका छन् । र, भनेकाछन्, आन्तरिक राष्ट्रियता सुदृढ नभएसम्म मुलुक संकटमा परिरह्नेछन् । यसर्थ यो पुस्तक महान जनयुद्ध लडेका छन् । राजतन्त्र फालेर गणतन्त्र ल्याएका छन् । विभेद र उत्पीडनमा परेका वर्गलाई सचेत पारेका छन् । समाजिक असमानताका विरुद्ध उभिएका छन् । अर्थात् बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न शान्तिपूर्ण युद्ध लड्ने उदघोष गरेका छन् ।
किताब पढ्दापढ्दै विगत सम्झीन पुगें । रोचक लाग्यो । घोचक लाग्यो । बीचमै बीसाउन मन लागेन । छट्पटी त लाग्यो नै । पढ्दै जादा घडी उत्साह त घडी निरास पनि न भएको होइन । अहिलेको जीवनलाई धेरै तरिकाबाट नापें । विगतको जीवनलाई धेरै तरिकाबाट जोडें । अन्त्यमा लाग्यो जीवन त केही रहेछ । गंगा श्रेष्ठ नेपालको राजनीति र साहित्य क्षेत्रमा स्थापित नाम हुन् । धेरै चर्चा गरेर उदासिन हुन चाहदिँन म । उहाँ पटकपटक मृत्युलाई जित्नुभएको रहेछ । थुप्रै अभाव र कष्टहरुसँग जुद्धनुभएको रहेछ । समाजिक सांस्कृतिक क्रान्ति गर्नुभएको रहेछ । कहिले हारेका मान्छे होइनन् । सधै जितेका कुशल मान्छे हुन् । हारेको त्यो हो जो गंगाहरुको पछाडि रहेर परिवर्तनका विरुद्ध जीवन बर्बाद पारे । र, समयको दुरुपयोग गरे ।
पुस्तकको जीवनको सुरुवात पूर्वको चिवाभन्ज्यांग देखि पश्चिमको झुलाघासम्म हुन्छ । त्यसपछि मध्य लोक मार्गसँग जोडिएका विभिन्न जिल्ला तथा महत्त्वपूर्ण ठाउँहरु पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, अोखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, डोटी अादिसँग साक्षात हुन्छ । त्यहाँका बाटोघाटो, प्राकृतिक सौन्दर्य, नागरिकको जीवन लगायतकाहरुसँग मितेरी लाग्छ । यात्राको क्रममा देखे भोगेका हरेक कुरालाई शब्द, शब्दमा सुक्ष्म र सरल तरिकाले वर्णन गरेका छन् । पुस्तकमा लेखकले जनयुद्धको विभिन्न घट्ना, परिघट्ना, विधार्थि जीवनदेखिको राजनीतिक यात्रा, जेलनेलका पिडाहरुलाई पनि समेट्न छाडेको छैन् । वर्तमानमा मुलुकको समाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक संकट र एतिहासिक पक्षहरुलाई पनि शब्दमा उनेका छन् । यसले पुस्तकको एतिहासिक्ता बढेर गएको छ ।
विगत शस्त्र आन्दोलनको क्रममा जनताको घरदैलोमा पुगेर जसरी समय काटेका थिए त्यसलाई पुनः सम्झेका छन् । जनताको घरदैलोमा खाएको सिस्नु, गुन्द्रुक र ढिलो आदिलाई मजाले सम्झेका छन् । नयाँ बैकल्पिक राजनीतिक शक्ति प्राप्तिको अभियानमा टडेर लागेका डाक्टर बाबुराम भट्टराईलाई पटकपटक सम्झेका छन् । आफ्नो टिममा रहेका र अभियानमा रहेका अभियन्ताहरुसँगको सम्वादहरुलाई पनि रोचक ढंगले व्यक्त गरेका छन् । यात्राको क्रममा प्राकृति सुन्दरतासँग रमाएका क्षणलाई मिठो तरिकाले पस्केका छन् । दिनभरको यात्रा र कार्यक्रमहरु तथा रातको थकित निन्द्रासँग खेलेको पौठेजोडीलाई त झन् मजाले सम्झेका छन् ।
गंगा श्रेष्ठको यो एघारौं कृति सांग्रिला बुक्सले प्रकाशन गरेका हुन् । २१९ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रहेको छ । समग्रमा यो पुस्तक यात्रा संस्मरणको रुपमा रहे पनि मुलुकको विगत र वर्तमानको परिवर्तनको औचित्य र आवश्यकता बुझ्नेहरुका लागि समुन्द्र हुन् ।
दशवर्ष जनयुद्धले प्राप्त गरेको गणतन्त्र र वर्तमानमा मुलुकको समाजिक, आर्थिक र राजनीतिक आश्यक्ता माथि यो पुस्तक गहिरो चिन्तनको दस्तावेज हो । मुलुकको विविधतायुक्त समाजिक संरचनाको आर्थिक, समाजिक, सांस्कृतिक र राजनीतिक पक्षको औचित्य, आवश्यक्ता र परिवर्तनलाई दह्रो ढंगले उठाएका छन् । लेखकले आफूलाई भ्याएसम्म सम्झेर लेख्न कुनै कसर राखेको छैन् । त्यसैले यो पुस्तक साँचो अर्थमा बैकल्पिक राजनीतिक यात्रा निर्माणमा कोसेढुंगा सावित गरेका छन् ।



