काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै ठाउँका नेपाली राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् भन्ने पुष्टि भएको बताएका छन् ।
निशान छाप परिवर्तनका लागि शनिबार प्रतिनिधिसभामा भएको बैठकमा आफ्नो मन्तव्य राख्दै सभापति देउवाले यस्तो कुरा बताएका हुन् । उनले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका हुन् ।
‘सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको छ । मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्छ ।’ देउवाले भनेका छन् ‘राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहनेछ । नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन छ ।’
कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको हो ।
सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, अंग्रेजले छापेको नक्सामा पनि यो प्रस्ट छ । चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ ।
‘हाम्रो पार्टीको केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको छ । सबै ठाउँका नेपाली राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् भन्ने पुष्टि भएको छ ।’ देउवाले भने ।




