हुलाकी न्यूज, (प्रवास) । हाल वैश्विक महामारी कोरोना द्वारा प्रभावित भएका वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्वदेश फर्काउन सरकारले चलेको कदम स्वागत योग्य भए पनि यसको व्यवस्थापन प्रक्रिया भने जनताको सरकारले गर्ने जस्तो नभएको भन्दै गैर आवासीय मधेशी संघले विरोध जनाएको छ ।
गैर आवासीय मधेशी संघ, अन्तर्राष्ट्रिय समिति प्रवक्ता- सुजित कुमार ठाकुरद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै, रोजगार गुमाएका पीडित एवं असहाय कामदार आफैंले तेब्बर/चौब्बर यातायात खर्च गरेर स्वदेश फर्कनुपर्ने, आफ्नो देशमा पाइला टेक्ना साथ स्वयं क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, स्वयं कोरोना टेस्टको लागि महंगो खर्च तिर्नुपर्ने इत्यादि नियमले सरकार अति नै अमानवीय र असंवेदनशील रहेको पुष्टि गर्दछ भनिएको छ । यस्तो संवेदनशील घडीमा सरकारले विदेशमा रहेका आफ्ना पीडित नागरिकप्रति सहानुभूतिका साथ राहत सहयोग गर्नुपर्नेमा सरकार आफ्नो अभिभावकत्वको भूमिका निभाउन चुकेको आरोप लगाइएको छ ।




