हुलाकी न्यूज,जनकपुरधाम: नेपाल राष्ट्रिय मुसहर संघले दोषी उपर कारवाहीका मांग गर्दै प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउतलाई ज्ञापनत्र बुझाएका छन् ।
धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा २४ वर्षीय शम्भु सादाको मंगलबार राति मृत्यु भएको थयो । उक्त घटनालाई लिएर नेपाल राष्ट्रिय मुसहर संघका युवाहरुले प्रदेश २ का मुख्यमन्त्री राउतलाई दोषीमाथि हदैसम्मको कारवाहीको माँग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
त्यस्तै उनीहरुले मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोगको कार्यालय लगायतमा समेत ज्ञापनपत्र बुझाएका छन् ।
मृतक शम्भु सादाको आमालाई प्रहरी चौकीमा गुपचुप ल्याउनु, जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लिनु आदिले यो आत्महत्या कुनै पनि हालतमा नरहेको र षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
‘प्रहरी हिरासतमा हत्या हुनु दुःखद कुरा हो’ मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले ज्ञापन पत्र बुझ्दै भने, ‘प्रहरी हिरासतमा गएपछि सुरक्षाको जिम्मा प्रहरीलाई हुन्छ । तर प्रहरी हिरासतमै मृत्यु हुनु दुःखद र रहस्यमय छ । छानबिनका लागि हामीले प्रदेश प्रहरी प्रमुखलाई पत्र काटी सकेका छौं ।’ क्षतिपूर्तिका लागि प्रदेश सरकारमा पनि सिफारिस गर्ने छौं । प्रहरीकै मुद्दा हो त्यसैले प्रदेश सरकार पनि चनाखो भएर बसेका छन् ।’
मोटरसाइकलमा युवाहरुले प्रहरी दमन मुर्दावाद, दलितमाथि हत्या हिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकी नै असुरक्षित, हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारा प्लेकार्डमा लेखेर प्रदर्शन समेत गरेका हुन ।
यता मुसहर संघले दोषीमाथिको छानबिनको माँग गर्दै क्षतिपूर्तिको पनि माँग गरेको छ । प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्छ । प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचार सहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्छ लगायतको रहेको छ ।
मृतक चालक सादा रोशनी कन्स्ट्रक्सनका ट्रयाक्टर चालक थियो । जेठ १२ गते हवाहुरी चलेको बेलामा ट्याक्टरको ठक्करबाट सोही नगरपालिकाकी ४० वर्षिय सुमित्रा साहको मृत्यु भएको थियो । त्यसैको छानबिनको क्रममा चालक सादालाई प्रहरीेले हिरासतमा लिएका थिए ।



