हुलाकी न्यूज, काठमाडौं, ४ कार्तिक । आश्विन शुक्ल अष्टमीका अवसरमा बुधबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
महाअष्टमीको दिन देशभरका दुर्गा मन्दिर र शक्तीपिठहरुमा बली प्रदान गर्ने गरिन्छ । बिहानैदेखि देवीको मन्दिरमा बली प्रदान गर्नेहरुको भीड छ । जनकपुरधामको राजदेवी माईको मन्दिरमा पनि बिहानैदेखि बली प्रदान भइरहेको छ ।
यता मिथिलाधाममा आज विवाहिता महिलाहरु खोइछ भरेर महाअष्टमी मनाउँदैछन् । दुर्गा मन्दिर र पांडालमा बनाइएको दुर्गा पुजास्थलमा बिहानैदेखि विवाहित महिलाहरु खोइछ भरिरहेका छन् ।
मिथिलाञ्चलमा पौराणिक कालदेखि विजयादशमीमा महाअष्टमीको दिन खोइछ भर्ने चलन छ । रातो कपडा वा सारीमा पानको पात राखी त्यसमाथि चामल, अंकुरी, सुपारी, सौभाग्यका सामान, फलफूल, मिठाई लगायतका नैवेद्य राखेर देवी दुर्गाको पुजा गरिन्छ ।
खोइछ भर्नुलाई मिथिलाधाममा सौभाग्यको प्रतिक मानिन्छ । राजधानी काठमाडौंका दुर्गा मन्दिरहरुमा पनि बिहानैदेखि खोइछ भर्ने मधेशी महिलाहरुको भीड लागेको छ ।



