हुलाकी न्यूज, दाङ, कार्तिक ४ । बाँकेको खास कुश्मामा यात्रु बाहक बस पल्टिएर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ग्यास सिलिण्डर र पेट्रोलियम पदार्थ बोकेको उक्त बसमा दुर्घटनापछि आगलागी भएको थियो ।
दाङसँग सीमा जोडिएको बाँकेको खासकुस्मा ८ चप्परगौडीमा भएको उक्त बस दुर्घटनामा १७ यात्रु सम्पर्कविहिन छन् । आगलागीबाट १० जनाको जीवीतै उद्धार गरिएको छ । उक्त बसले घटनास्थलभन्दा ५ किलोमिटर पूर्व रहेको दाङको अमिलीयामा ३३ यात्रुको इन्ट्री गराएको प्रहरीले जनाएको छ । तर, बसमा ५० जनाजति यात्रु हुनसक्ने अनुमान गरिएको छ । अस्थायी प्रहरी पोष्ट कुसुम बाँकेका प्रहरी सहायक निरिक्षक पुष्कर बमले १७ यात्रु सम्पर्कमा नरहेको र उनीहरु आगोमै डढेको हुन सक्ने बताएका छन् । उनका अनुसार बसमा ठूलो आगलागी भएको थियो । आगोले झण्डै पचास फिट अग्ला रुखका हाँगाहरु समेत जलेर भाँचिएका छन् ।
बमका अनुसार अहिले सम्म भेटिएका ६ शव मध्य पाँचजनाको शब चिन्नै नसकिने अवस्थामा छन् । एउटा शव मात्रै पहिचान गर्न सकिने खालको रहेको प्रहरीले बताएको छ ।
प्रहरीकाअनुसार बसबाट कोही यात्रु पनि भागेको नदेखिएकाले सम्पर्कमा नरहेका यात्रुहरु सकुशल आउन सक्ने सम्भावना कमै रहेको छ । प्रहरीले अहिले खोजतलासको काम रोकिसकेको छ ।
घाइते मध्ये ५ जनालाई उपचारका लागि लमही ल्याइएको छ भने थप ५ घाइतेलाई नेपालगन्ज लगिएको छ ।



