हुलाकी न्यूज, जनकपुरधाम, ३ कार्तिक । जारी मधेश आन्दोलनका क्रममा धनुषाको जनकपुरमा एकैदिन ३ जनाको मृत्यु भयो । तीन जनालाई नै प्रहरीको गोली लागेको थियो । उनीहरु तीनजनै धनुषा निर्वाचन क्षेत्र नं. ५ का हुन् ।
संयोगवश राष्ट्रपति डा. रामवरण यादवको घर पनि सोही क्षेत्रमा पर्दछ । राष्ट्रपति डा. यादव पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ५ बाटै जितेका थिए । दोस्रो निर्वाचनमा राष्ट्रपतिका छोरा डा. चन्द्र मोहन यादव क्षेत्र नं. ५ बाट जितेका हुन् ।
आफ्नै निर्वाचन क्षेत्रबाट तीन तीन जनाको हत्या हुँदा पनि राष्ट्रपतिले केही सोधखोज नगरेको सहिद परिवारले गुनासो गरेका छन् । राष्ट्रपति, क्षेत्र नं. ५ का अहिलेका सांसद राष्ट्रपति पुत्र चन्द्र मोहन यादव वा उनको पार्टीका स्थानीय नेता कार्यकर्ताले पनि केही चासो नदिएको उनीहरुको गुनासो छ । त्यस क्षेत्रका स्थानीयहरु पनि राष्ट्रपति वा उनको परिवारको तर्फबाट कुनै सोधखोज नभएकोमा आक्रोशित छन् ।
भदौ २५ गते आन्दोलनको क्रममा प्रहरीको गोलीले मृत्यु भएकाहरुमा धनुषा जमुनियाका १४ वर्षीय बालक नीतु यादव, धनुषा अरेरवाका १३ वर्षीय बालक दिलिप यादव र धनुषा महेन्द्रनगरका ३५ वर्षीय सञ्जय चौधरी छन् ।
तीनजटै सहिद परिवारको आर्थिक अवस्था कमजोर छ ।



