
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं सांसद राजेन्द्र महतोले आगामीे आर्थिक वर्ष २०७७/७८ को बजेट राज्यको चरित्रानुसार नै आएको टिप्पणी गरेका छन् ।
आइतबार बजेटमाथिको छलफल कार्यक्रममा नेता महतोले टिप्पणी गर्न खालको बजेट नभएकोसमेत बताए । उनले बजेटलाई औपनिवेशिक योजनाको निरन्तरताको संज्ञासमेत दिएका हुन् ।
महतोले भने, ‘राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ । उसको नियत जस्तो छ त्यस्तै नियम बनाउँछ, कानुन बनाउँछ , संविधान बनाउँछ, बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ ।
यही नेपालमा भइरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाति, मधेसी, थारु, दलितको संख्या पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने ? यो बजेट भनेको त्यही हो ? के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’
उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाइरहेको भन्दै आक्रोश पोखे ।
‘अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिनदहाडै मरिरहेको छ । यहाँ भाषण भइरहेको छ । कोही मर्न दिँदैनौ रे ?’ उनले भने। नेता महतोले एकल जातीय आधारमा गरिएको शासन र नश्लीय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने धारणा राखे ।



