आशिष गुप्ता, नेपालगञ्ज, ३ कार्तिक । दशैंको आगमनसँगै नेपालगञ्ज क्षेत्रमा खुलेआम जुवा अड्डा सञ्चालन हुनथालेका छन् । नेपालगञ्ज उपमहानगर क्षेत्रको फुलटेक्रा, बेलासपुर, कोरियनपुर, गोसाई गाउँ, धम्बोझी लगायतका स्थानमा केही दिन यता जुवा अड्डा सञ्चालनमा आएका छन् । खुलेआम जुवा सञ्चालन भइरहँदा पनि प्रहरी भने मुखदर्शक बनेको छ ।
जुवा खालमा एकै रातमा करोडौं रुपैयाँको खेल हुने गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् । ‘केहीदिन यता नेपालगञ्जमा धमाधम जुवा चलेको छ, प्रहरी पनि जुवा नियन्त्रण गर्न चुकिरहेको छ,’ स्रोतले भन्यो ।
जुवामा प्रहरी अधिकृतदेखि स्थानीय तथा भारतीय ठुल्ठुला व्यापारीको संलग्नता रहने गरेको बताइएको छ । जुवा चलिरहेको सुचना प्रहरीसम्म पुगेपनि नियन्त्रण गर्न प्रहरी असफल भइरहेको छ ।
जुवा खालमा छापा मार्न प्रहरी पुग्नुभन्दा अगावै जुवाडेसमक्ष सुचना आइपुग्ने भएकाले प्रहरीले पक्राउ गर्न नसकेको स्रोतको भनाई छ । जुवा खेलाएको सुचनाका आधारमा प्रहरीले कोरियनपुरस्थित प्रकाश शाहको घरमा पटक–पटक छापा मारेपनि फेला पार्न नसकेको स्रोतको दाबी छ । नगरका कतिपय ठाउँमा त दिउँसै जुवा सञ्चालन हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
‘जुवा खेलाउनेले एकै रातमा तीन देखि पाँच लाख रुपैयाँसम्म नाल उठाउने गरेका छन् । बाँके प्रहरीले गतवर्ष जुवा नियन्त्रणका लागि दशैं, तिहार अवधिभर अभियान सञ्चालन गरेको थियो । यसवर्ष भने प्रहरीले न अभियान सञ्चालन गर्यो, न त कुनै जुवा अड्डामा छापा मारेर कसैलाई पक्राउ गर्न सफल भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी भीमकिरण बोगटीले जुवा नियन्त्रणका लागि प्रहरीको छुट्टै निकाय परिचालन नभएपनि नियमित रुपमा निगरानी राख्दै आएको दाबी गरे । ‘जुवा नियन्त्रणका लागि छुट्टै निकाय खटाएका छैनौ, तरपनि क्षेत्रीय अनुसन्धान व्यूरो र अंचल प्रहरीसँग समन्वयमा जुवा नियन्त्रणको प्रयास गरिरहेका छौ,’ उनले भने ।
जुवासम्बन्धी सुचना संकलन गर्ने र छापा मार्ने काम गरिने डिएसपी बोगटीले बताए । चार्डपर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले नेपालगञ्जलाई विभिन्न ४ भागमा विभाजन गरेर शान्ति सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी दिए । प्रत्येक टोलीको नेतृत्व प्रहरी निरीक्षकले गर्ने उनले बताए । ‘यो टोलीले चौबिसै घण्टा गस्ती, पेट्रोलिङको काम गर्छ,’ बोगटीले भने ।



