
काठमाडौं । शुक्रबार बारामा थप चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार पचरौता नगरपालिका–२ का २७, २८ र ४५ तथा वडा नम्बर ६ का २७ वर्षीय पुरुष व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै बारामा संक्रमितो संखया ५८ पुगेको उनले बताए । संक्रमित सबै जना भारतबाट आएर पचरौता नगरपालिका वडा नम्बर १ स्थित पीपरपाती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।
संक्रमित सबैलाई बाराको कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । पचरौता नगरपालिकाका जनस्वास्थ्य प्रमुख नवलकिशोर यादवका अनुसार उक्त क्वारेन्टिनमा एक सय जनाको परीक्षण गरिएकोमा चार जनामा संक्रमण देखिएको हो ।
पचरौता नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय मावि वेलदारी क्वारेन्टिनमा बसेका ५४ जना र वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय मावि वेलौली क्वारेन्टिनमा बसेका २९ जनाको स्वाब संकलन गर्न बाँकी रहेको उनले बताए ।



