काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीबाट जोगाउनका लागि प्रधानमन्त्रीसँग विशेष आर्थिक प्याकेज माग गरेका छन् ।

मुख्यमन्त्री राउतले राहतका विशेष कार्यक्रम संचालन गर्नु पर्ने देखिएकोले प्रदेश २ का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराई दिन प्रधानमन्त्रीलाई अनुरोध गर्दै पत्र लेखेका छन् ।

मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई लेखेको पत्रको पूर्णपाठः

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमण बाट देश र जनतालाई बचाउन एवं संक्रमण फैलिन नदिन प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग सहकार्य र समन्वयात्मक रुपमा कार्य गरि रहेको यहाँलाई अवगत नै छ ।

यस प्रदेशका आठवटै जिल्ला भारत तर्फको खुला सीमाना सँग जोडिएकाले ठुलो सँख्यामा यस प्रदेशका जनता भारतमा विभिन्न रोजगार तथा व्यवसायमा आवद्ध छन् । पछिल्ला दिनमा भारतमा समेत कोभिड १९ को प्रकोप बढ्दो अवस्थामा भएकाले स्वदेश फर्किने क्रममा संक्रमण फैलिने सम्भावना बढेको छ । तसर्थ उनिहरुलाई व्यवस्थित रुपमा स्वदेश फर्काउने वातावरण बनाउन आवश्यक देखिन्छ । हुनतः प्रदेश सरकारले सीमापारी बाट आफनो नागरिक ल्याउन पहल शुरु गरेपनि त्यसको व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ ।

यस प्रदेशमा हाल सम्म ३ सय २४ जना संक्रमित देखिएको र ती मध्ये ९३ जना उपचार पछि घर फर्केका छन भने एक जनाको मुत्यु हुन पुगेको दुखद अवस्था समेत छ ।

प्रदेश सरकार, स्थानीय तह एवं स्थानीयको सहकार्य र समन्वयमा हाल सम्म १६ हजार ९ सय १४ बेड क्षमताको ३ सय १ वटा क्वारेन्टाइन , आठ वटै जिल्लामा गरि ६ सय ४५ बेड क्षमताको आइसोलेशन कक्षको निर्माण गरि उपचार गर्दै आएको छ । प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पताललाई लेभल २ को कोभिड विशेष अस्पताल तोकि संक्रमितहरुको उपचार व्यवस्था मिलाईएको छ ।

कोभिड १९ परीक्षणको लागि प्रदेशमा ३ स्थानमा रियल टाइम पिसिआर मेशिन बाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । हाल भिटिएम लगायतका स्वास्थ्य सामाग्रीको नियमित आपूर्ति हुन नसके बाट अपेक्षित परीक्षण गर्न सकिएको छैन । छिटो भन्दा छिटो परीक्षणको संख्या बढाएर क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापन गर्नु पर्ने अवस्था सृजना भएकोले संघीय सरकार संग दक्ष जनशक्ति र भिटिएम लगायतका उपकरण तथा स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराई दिन अनुरोध छ ।

पहिलो चरणमा स्थानीय तह मार्फत र दोश्रो चरणमा घरेलु तथा साना उद्योग कार्यालय मार्फत प्रदेश सरकारले सबै पालिकामा राहत उपलब्ध गराएको छ । लकडाउनको अवधी थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकार बाट ठोस कार्यक्रम ल्याउन हुन अनुरोध छ ।

यस प्रदेशका करिब १० लाख युवा जनशक्ति वैदेशिक रोजगारीबाट फर्कन सक्ने सम्भावना रहेको छ । प्रदेशका जनताको जिविकोपार्जन माध्यम कृषि र कृषि भूमिको उपलब्धतालाई समेत विचार गरि प्रदेश युवा रोजगार कार्यक्रमका लागि र कृषिमा विशेष उत्पादन अभियान ( विऊविजन, मलखाध र सिचाई)का साथै राहतका विशेष कार्यक्रम संचालन गर्नु पर्ने देखिएकोले प्रदेश २का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराई दिन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.