जनकपुरधाम । रोजगारीका लागि भारतको गुजरात पुगेका शहीदनगर नगरपालिकाका एक युवकको जटही नाकामा मृत्यु भएको छ । कोरोनाका कारण बेरोजगार भएपछि घर फर्किने क्रममा उनी विरामी परेका थिए ।
सुरतमै उनी बिरामी परेका उनको बुधबार बिहान ८ बजेतिर मृत्यु भएको हो । शहीदनगर नगरपालिका–९ का ३० वर्षीय युवकको नेपाल प्रवेश गर्ने क्रममा जटही नाकामा मृत्यु भएको हो ।
रेलबाट बिहारको दरभंगामा उत्रिएका उनीसहित करिब २ सय ५० जनाको टोली बुधबार बिहान ३ बजेतिर जटही नाका आइपुगेको थियो । बिरामी रहेका उनलाई सशस्त्र प्रहरीको जटही बीओपीले बिहान खानाको बन्दोबस्त मिलाइदिएको थियो ।
सुरतबाट फर्किएका उनलाई लिन जटही नाकामा उनको परिवारका सदस्य पनि पुगेका थिए । गम्भीर बिरामी रहेको र नाकामा इन्ट्री गर्ने काम ८ बजेदेखि मात्र सुरु हुने हुँदा उनलाई तत्कालै अस्पतालसम्म र्पुयाउन नसक्दा नाकामै मृत्यु भएको हो ।



