
बाँके । बाँकेका २१ जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् । कोरोनालाई जितेर घर फर्किनेहरूमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्ष पुरुष समेत छन् ।
आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घन्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाँकी सात जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
कोरोना पोजिटिभ देखिँदैमा आत्तिनु नपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।



