
हुलाकी न्यूज, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्याकेज मै संविधान संशोधनको माग गरेको छ।
राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपाका नेताहरुले मधेश मुद्दालाई सम्बोधन हुने गरी प्याकेज मै संविधान संशोधन हुनु पर्ने बताएका छन्।
जसपाका नेता उपेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेश मुद्दालाई पनि सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताए। उनले भने, ‘संविधान संशोधनको कुरा आएको छ।मधेशीहरुले पहिलेदेखि नै संविधान संशोधनको माग गर्दै आएका छन्। मधेशको मुद्दालाई पनि सम्बोधन हुने गरी प्याकेज मै संविधान संशोधन हुनुपर्छ।’
जसपा नेता राजेन्द्र महतोले पनि मधेश मुद्दालाई पनि समेटेर संविधान संशोधन हुनु पर्ने बताए।
हुलाकी न्यूजसँग उनले भने,‘संविधान संशोधन हुन्छ भने मधेशीको मुद्दा समेटिनु पर्छ। हामीले पहिलैदेखि संविधान संशोधनको माग गर्दै आएका छौँ। अहिलेसम्म सुनुवाई भएको छैन।’
नेपाल–भारतबीचको सीमानामा रहेको लिपुलेक–लिम्पियाधुरासहितलाई समेटेर नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेको छ। नयाँ नक्सालाई वैधानिकताका लागि संविधानमा रहेको निशान छाप संशोधन गर्न लागिएको हो। जसका लागि संविधान संशोधन गर्ने तयारी भएको छ।
सरकारले संविधान संशोधन बारे गरेको निर्णयका विषयमा जसपाका नेताहरुले संसदमा छलफल सुरुपछि ठोस प्रतिक्रिया आउने बताए। पार्टीको तर्फबाट औपचारिक धारणा सार्वजनिक गरिने पनि उनीहरुले जनाए।
फाइल तस्बीर



