
कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।
भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरू सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।
प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए ।
आवश्यकता परेमा थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उनले जनाए । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए ।
केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उहाँले बताउनुभयो । यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रिसकेको अनुमान छ । रासस



